काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षदेखि बैंक नोट बाहेकका सम्पूर्ण छपाई कार्य नेपालकै सुरक्षण मुद्रण केन्द्रमार्फत हुने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले हुलाक टिकट, स्मार्ट कार्ड, ई–मिग्रेशनसम्बन्धी सबै कागजात, नागरिकता, राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्मका छपाई कार्य सुरक्षण मुद्रण केन्द्रले गर्ने तयारी भइरहेको जानकारी दिए।
हाल २८ लाख ड्राइभिङ स्मार्ट कार्ड छाप्ने काम भइरहेको र यस वर्ष छापिने ६४ लाख राहदानी भने बाहिरी संस्थालाई दिइएको उनले स्पष्ट पारे।
उनका अनुसार, परराष्ट्र मन्त्रालयले राहदानी एकैपटक छपाइ गर्नुपर्ने अडान लिँदा २० लाख मात्र नेपालमै छाप्ने र बाँकी ४४ लाख पछि छाप्ने प्रस्ताव कार्यान्वयन हुन सकेन। हाल बाहिरी कम्पनीले राहदानी छपाइ गरिरहेको भए पनि आगामी वर्षदेखि भने नेपालमै सबै प्रकारका सुरक्षा मुद्रण हुने उनले बताए।
मन्त्री गुरुङले भने, “सुरक्षण मुद्रण केन्द्रमा आवश्यक मेसिनहरु ल्याएर राखिएको छ। तर प्राविधिक समस्या र व्यवस्थापन अभावका कारण प्रयोगमा आउन सकेको थिएन। अब भने स्मार्ट कार्डदेखि राहदानीसम्म सबै छपाइ काम यहीँबाट हुनेछ।” उनले यसलाई नेपालको लागि ‘ठूलो माइलस्टोन’ भएको बताए।
उनले बैंक नोट छपाइका लागि भने छुट्टै मेसिन ल्याउनुपर्ने भएकाले सो प्रक्रिया पनि छिट्टै सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।
उनले नेपालमा आगामी माघ महिनादेखि फाईभजी सेवा कार्यान्वयनमा ल्याउने तयारी भइरहेको पनि घोषणा गरे। प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौता अनुसार काठमाडौँ र पोखरामा यस वर्षभित्र फाईभजी सुरु गर्ने र आगामी वर्षदेखि सबै महानगरमा विस्तार गर्ने योजना अघि बढाइरहेको उनले बताए। क्रमशः देशभर फाईभजी सेवा विस्तार गरिने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्