काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छन् ।
मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरूको नाम संकलन भइरहेको र उनीहरूकाे नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने बताएकी हुन् ।
उनले प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहेको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताइन् । दुर्गममा जान नमान्ने कर्मचारीहरुको आर्थिक अधिकार कटौति गरेर पनि मन्त्रालयले कारबाही गरिरहेको बताइन् ।
“खासगरी कोही सधैँ दुर्गममा मात्रै बसिरहने र सुगममा मात्रै कोही बसिरहने, कोही धेरै वर्षदेखि भ्याली नछोड्ने, कोही धेरै वर्षदेखि दुर्गममा बसिरहने स्थिति पनि छ । प्रमुख प्रशासकीय अधिकृत धेरै ठाउँमा निमित्तले चलाइरहनुभएको अवस्था पनि छ । मेरो सबैभन्दा बढी चासो त्यहीँ हो । निमित्तले प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाएको छ, यसलाई जिरोमा झार्नुपर्छ भनेर गृहकार्य सुरू गरेका छौँ,” उनले भनिन् ।
मन्त्री न्यौपानेले दुर्गममा खटाउँदा जान्न भन्नेहरूको नाम सार्वजनिक गर्ने चेतावनी दिइन् ।
प्रतिक्रिया दिनुहोस्