कैलालीका वरिष्ठ वन अधिकृत यादवविरुद्ध ७ लाख ३१ हजार रुपैयाँ घुस प्रकरणमा आरोपपत्र दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली डिभिजन वन कार्यालयमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध घुस प्रकरणमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार यादवले कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ स्थित ग्वासी सामुदायिक वनमा रहेको घाटगद्दी गरिएको काठको बिमार्का र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

टोलीले यादवलाई सेवाग्राहीबाट रु.७ लाख ३१ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ। अनुसन्धानपछि यादवले सो रकम घुसका रूपमा लिएको प्रमाणित भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बराबर जरिवाना र कैद सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कारबाहीको माग गरिएको हो।