काठमाडौँ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ९ की तत्कालीन वडा सदस्य तथा न्यायिक समिति सदस्य भावना श्रेष्ठविरुद्ध दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
विशेष अदालतमा दायर गरिएको अभियोगपत्रअनुसार, पोखरा महानगरपालिका वडा नम्बर २६ मा बाटोको निकाससम्बन्धी विवादमा निर्णय आफ्नै पक्षमा पार्न भन्दै रविन कुमार श्रेष्ठले न्यायिक समिति सदस्य भावना श्रेष्ठलाई दुई लाख रुपैयाँ घुस दिएको उजुरी परेको थियो। अनुसन्धानका क्रममा श्रेष्ठले उक्त रकम लिएको प्रमाणित भएको जनाइएको छ।
घुस लिएको प्रमाणित भएपछि भावना श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो बराबर जरिवाना र लिइसकेको रकम जफत गर्न मागदाबी गरिएको विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ।
त्यस्तै, सोही मुद्दामा निवेदक रविन कुमार श्रेष्ठले पनि घुस दिएको प्रमाणित भएकाले उनलाई समेत कैद सजाय, दुई लाख रुपैयाँ बिगो कायम गरी जरिवाना तथा सो रकम जफत गर्न माग गर्दै आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्