रास्वपाको आरोपः सरकारले संविधानको अपमान गरिरहेको छ


काठमाडों । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्र छिमेकी देशहरुले प्रयोग गरिरहेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान र भूभाग संरक्षणका लागि आवश्यक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले संविधानको संरक्षण गर्नुको सट्टा अपमान गरिरहेको उनको आरोप छ ।

उनले जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण र मानव तस्करी रोक्नुपर्ने अवस्थामा सरकारले उल्टै ती विषयलाई हल्का खेलको रूपमा लिएको टिप्पणी गरे।

उनले भने, ‘लिपुलेक र कालापानीको भूभाग छिमेकी देशहरुले प्रयोग गर्ने भनेर आम सञ्चारमाध्यममा आएको छ । नेपालको भूभागको संरक्षण गर्न नेपाल सरकारले यथाशिघ्र पहल गर्छ भन्ने हामीले विश्वास गरेका छौं । सभामुख महोदय देश हाँक्नेहरुले संविधानको रक्षा गर्नुपर्ने हो । तर सरकारले त्यसको अपमान गरेको छ । जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा मानव तस्करी नियन्त्रण गर्नुपर्ने सरकार आज तीनै खेलमा रमाइरहेको छ ।

उनले मानव तस्करीजस्तो गम्भीर विषयमा ठूला दलहरू मौन रहने गरेको आरोप लगाउँदै उनले भ्रष्टाचारका घटनालाई पनि सरकारले बेवास्ता गरेको जिकिर गरे । सांसद नेपालीले सरकारले वैकल्पिक शक्तिहरुमाथि निरन्तर कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै सांसद नेपालीले उपसभामुखमाथि अंकगणितीय खेल खेल्न लागिएको भन्दै त्यसलाई लोकतन्त्रको अपमानका रूपमा चित्रण गरे ।

उनले भिजिट भिसा प्रकरणको निष्पक्ष छानविन नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।