काठमाडौँ । नाडा अटो सो २०२५ ले यसपटक अभूतपूर्व सफलता हासिल गरेको छ। केवल पाँच दिनमै १ लाख ४९ हजार ८८१ जनाले प्रदर्शनी अवलोकन गरिसकेका छन्, जसले आम नागरिकमा अटोमोबाइल प्रविधि र नवप्रवर्तनप्रति ठूलो चासो रहेको स्पष्ट गरेको छ।
आज पाँचौँ दिनमा पनि विभिन्न क्षेत्रका प्रमुख व्यक्तिहरुले अटो सो अवलोकन गरेका छन्।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी तथा कलाकार सन्दीप क्षेत्री आज प्रदर्शनी अवलोकन गर्ने प्रमुख पाहुना बनेका थिए ।
नाडाले प्रत्येक दिन विविध विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ। यस क्रममा आज सडक र यातायातसम्बन्धी अन्तरक्रिया काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो भने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा `मेड इन नेपाल´ विषयक अन्तरक्रिया सम्पन्न भएको थियो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले यो उपलब्धिलाई ऐतिहासिक शुरुवातको रूपमा लिँदै नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउने आत्मविश्वास थप मजबुत भएको बताए।
उनले प्रदर्शनी सफल बनाउन योगदान पु¥याउने प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताप्रति आभार व्यक्त गर्दै नाडा अटो सो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सवका रूपमा स्थापित भएको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्