काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी सुरु भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेक्रबिक्रम चन्द ‘विप्लव’बिच छलफल भएको छ ।
विप्लवको निवास ललितपुर हरिसिद्धी पुगेर नै प्रचण्डले झण्डै ४५ मिनेट छलफल गरेका छन् । नेकपाको केन्द्रीय कमिटी बैठक यही भदौँ २२ गतेदेखि सुरु हुँदैछ ।
नेकपा माओवादी केन्द्रको गएको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्रको निर्णयपछि नेकपाको आगामी केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ ।
माओवादी केन्द्रमा जनार्दन शर्माले प्रचण्डको खुलेर आलोचना गरिरहेका छन् ।
जनार्दन ‘कस्सिए’को भन्दै प्रचण्डले विप्लवसँग एकताको छलफललाई थप तीव्र बनाएका छन् । विप्लवसँग हिजो भएको फोन कुराकानीमा प्रचण्डले आफै भेट्न आउने जानकारी गराएका थिए ।
विप्लव कपिलवस्तुबाट भदौ ६ गते बेलुकी काठमाडौँ आएका थिए । कार्यक्रमका लागि काठमाडौँ आएका विप्लवसँग प्रचण्डले भेटेर छलफल गरेका हुन् ।
नेकपाले पनि आगामी चुनावमा भाग लिने निर्णय गरेपछि नयाँ योजनाबारे छलफल गरिरहेको छ । अहिले महासचिव विप्लवले माओवादी केन्द्रसँग एकता गर्ने कि नयाँ केन्द्र बनाएर जाने भन्ने विषयमा छलफल गरिरहेका छन् ।
कार्यकारी जिम्माबारे सकारात्मक तर सन्देह
पार्टी एकताबारे पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अन्य नेता तथा नेकपाका महासचिव विप्लवबिच विभिन्न चरणमा छलफल भइरहेको छ । प्रचण्डसँग पनि यसअघि पटक पटक छलफल भएको छ ।
दुबै पक्षबिचको छलफलमा पार्टी एकताले प्राथमिकता पाइरहेको छ । स्रोतहरूका अनुसार प्रचण्ड र विप्लवबारे कार्यकारी जिम्माको विषयमा छलफल भएको छ । पदबारे स्पष्ट छैन तर प्रचण्डले कार्यकारी जिम्मेवारी दिन तयार रहेको बताए पनि महासचिव विप्लव सशङ्कित छन् ।
महासचिव विप्लवले माओवादी केन्द्रभित्र अहिले ४ ओटा गुट सक्रिय रहेको विश्लेषण गरेका छन् । उनले आफू निकट नेताहरूलाई सुनाउने गरेका छन्, “उनीहरूबिच(माओवादी केन्द्रभित्र) नै ४ ओटा गुट छ हामी गएर ५ ओटा गुट किन बनाउने ?यत्रो संरचना बनेको छ । सकारात्मक वातावरण बनेको छ ।”
कार्यकारी जिम्मा दिन प्रचण्ड पनि सकारात्मक रहेको विप्लवले सुनाउने गरेका छन् तर आन्तरिक किचलोमा काम गर्न गाह्रो हुने उनको निष्कर्ष छ ।
दोस्रो तहका नेताहरूसँगको भेटघाटमा भने विप्लवले ‘नयाँ केन्द्र’ बनाउन समेत छलफल गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालसँग नयाँ केन्द्र बनाउनेबारे छलफल गरेको विप्लव निकट स्रोत बताउँछ ।
उनले भन्ने गरेका छन्,“हामीले पार्टी एकता गरे पनि अहिलेका बुढा नेताले छोड्ने होइनन्, बरु तपाईं हामी मिलेर आँटौ न त ।”
विप्लवले यसबारे सार्वजनिक रुपमा लेख नै लेखेका थिए । यसअघि विप्लवलाई नजिक ल्याउने माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा लागिरहेका थिए ।
प्रतिबन्धपछि खुल्ला भएका विप्लवले सबैभन्दा पहिले महरालाई भेटेका थिए । यस बिचमा जनार्दन शर्मासँग बढी छलफल भएको देखिएको थियो । लामो समयपछि वर्षमान पुनसँग समेत कुराकानी भएको थियो ।
वर्षमानको गुनासोमा विप्लवको जवाफ
२०७४ को चुनावका बेला रोल्पामा वर्षमान पुनमाथि नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । चुनाव बहिष्कार गरिरहेको नेकपाको आक्रमणबाट पुन मुस्किलले जोगिएका थिए । केही समय अगाडि भएको भेटमा पुनले सोही घटना सम्झाएका थिए ।
पुनले गुनासो गर्दै विप्लवलाई भनेका थिए,“ चुनावको बेला (२०७४) मलाई झन्डै मार्नुभयो, म अलिकतिले बाँचे किन यस्तो भयो ?” विप्लवले हास्दै जवाफ फर्काएका थिए,“तपाईंलाई मार्न चाहेको भए कुनै आइतबार पर्खनु पर्दैन थियो त्यो तपाईंलाई लक्षित गरेको भन्दा पनि सत्ताको प्रवृत्तिलाई लक्षित गरेको हो । तपाईंलाई नै मार्ने कुनै मनासय थिएन । हामी सँगै लडेका हौँ । तपाईंलाई थाहा छ नि मार्नलाई के गाह्रो थियो र ।”
उनले पुनलाई नयाँ केन्द्रका लागि प्रस्ताव समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्