५ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १६ देखि


काठमाडौं । ५ औं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला यही भदौ १६ देखि काठमाडौँमा हुने भएको छ ।

महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ आगामी भदौ १६ देखि २१ गतेसम्म उक्त मेला आयोजना हुन लागेको हो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि देखिएको कोभिड सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष रीता सिंहले जानकारी दिइन् ।

महिला उद्यमीलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाहरुको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र बिक्रीका लागि एक साझा स्थल सृजना गर्ने, अनलाइन बजारीकरणका लागि महिला उद्यमीलाई प्रोत्साहन गर्ने, सरोकारवाला तथा महिला उद्यमीबीच सम्बन्धको स्थापना र सञ्जालीकरण निर्माणका लागि प्रोत्साहन गर्ने उक्त मेलाको उद्देश्य रहेको छ ।

यस्तै मेलाले नयाँ उत्पादन, सेवा तथा प्रविधिलाई लागत प्रभावकारी प्लेटफर्मतर्फ प्रोत्साहन गर्ने, उत्पादन र क्रेताहरुको एक विस्तृत दायरामा ल्याई एउटै प्लेटफर्मबाट लाभ लिने, व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयका लागि उत्कृष्ट अनलाइन अवसरको खोजी गर्ने लक्ष्य लिइएको छ ।

मेलाका विशेष आकर्षणका रुपमा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हातेकागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका कक्षहरु हुनेछन् । ७९ कक्ष रहने उक्त मेलामा ५७ महिला उद्यमीका कक्ष र २२ जिल्ला महिला उद्यमी सङ्घलाई प्रतिनिधित्व गर्ने कक्ष रहने महासङ्घले जनाएको छ ।