निक्षेप खाता संख्या ६ करोड नजिक, एकै वर्ष ३९ लाख खाता खोलियो


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा एक वर्षमा ३९ लाख भन्दा बढी निक्षेप खाता खुलेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ३९ लाख ८५ हजार ५७३ निक्षेप खाता खुलेका हुन् ।

२०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप खाता संख्या ५ करोड ९८ लाख ८१ हजार ३५३ पुगेको छ । २०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप खाताको संख्या ५ करोड ५८ लाख ९५ हजार ७८० रहेको थियो ।

वाणिज्य बैंकहरूमा ५ करोड १३ लाख ८० हजार २८९, विकास बैंकहरूमा ७५ लाख १५ हजार ८०६ र वित्त कम्पनीहरूमा ९ लाख ८५ हजार २५८ निक्षेप खाता रहेको राष्ट्र बैंकले जनाएको छ ।

५३ प्रतिशत महिलाहरूको बचत खाता सक्रिय रहेका छन् भने ४९ प्रतिशत पुरुषहरूको मात्र खाता सक्रिय रहेका छन् ।
राष्ट्र बैंकका अनुसार महानगरपालिकामा एक करोड ३७ लाख बचत खाता रहेको छ भने उप महानगरपालिकामा ५२ लाख, नगरपालिकामा २ करोड २८ लाख र गाउँपालिका ६१ लाख बचत खाताहरू रहेका छन् ।

गाउँपालिकामा जम्मा जनसंख्याको ६१ प्रतिशतको मात्र बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप खाता खोलिएको छ भने महानगर पालिकामा जनसंख्याभन्दा ५३९ प्रतिशतले बढी बचत खाता रहेको छ । प्रदेश अनुसार सबैभन्दा बढी खाता बागमती प्रदेशमा रहेको छ भने सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ ।

गाउँपालिकामा जनसंख्याभन्दा कम खाता भएपनि सक्रिय खाता भने महानगरपालिकामा भन्दा गाउँपालिकामा बढी रहेको देखिएको छ । गाउँपालिकामा सक्रिय खाता ८५ प्रतिशत रहेको छ भने महानगरपालिका र उपमहानगर पालिकामा ६७ प्रतिशतमात्र खाता सक्रिय रहेका छन् । यस्तै, नगरपालिकाहरूमा ७३ प्रतिशत निक्षेप खाता सक्रिय रहेका छन् ।

यो अवधिमा ६१ हजार ऋणी खाता बढेको छ । यस अवधिमा ऋणी खाताहरूको संख्या ६८ हजार १९९ ऋणी खाता बढेका हुन् । २०८१ असार मसान्तसम्म १८ लाख ९३ हजार २७० ऋण खाता रहेकोमा २०८२ असार मसान्तसम्म १९ लाख ६१ हजार ४६९ ऋण खाता खुलेका हुन् ।

नेपालमा ५४ ओटा बैंक तथा वित्तीय संस्थाहरूले ६ हजार ५२२ शाखा मार्फत आफ्ना सेवाहरू दिइरहेका छन् । जसमा २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीहरू रहेका छन् ।

मोबाइल बैंकका ग्राहकको संख्या पनि ३० लाखले बढेको छ । २०८१ असार मसान्तसम्म २ करोड ४६ लाख ४८ हजार ८४६ रहेको मोबाइल ग्राहकको संख्या ३० लाख ९२ हजार ४३८ ले बढेर २०८२ असार मसान्तसम्म २ करोड ७७ लाख ४१ हजार २८४ पुगेको हो ।