शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडाैँ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहीवार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गर्नुभएको छलफलपछि यसबारे जानकारी गराइएको हो ।

प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउनु हुने कार्यसूचि रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए । साथै संसदको आगामी बैठक र कार्यसूचिबारे छलफल भएको छ । १३ गतेपछि १८ गते र २५,२६ र २७ भदौमा बैठक हुने सहमति भएको उनले बताए ।

उनले भने, “संसदको आगामी बैठकको कार्यसूचिबारे छलफल भयो । त्यसपछि हामी १८ गतेदेखि, १८ र १९ गते र त्यो भन्दा पछाडिको कार्यक्रम कसरी गर्ने भन्नेबारेमा छलपल गरेका छौँ । भाद्र महिनाभरको कार्यतालिका कसरी लैजाने भन्नेबारेमा छलफल भएको छ । अर्को हप्ता २५,२६ र २७ गते बैठक हुन्छ ।”

सदनमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्रीले जानकारी गराउने कार्यसूचि रहेको उनले बताए ।