टिकाराम नेती । अमेरिका, टेक्सास । विद्यार्थी भिजामा अमेरिका पढ्न आएका ७ जना नेपाली विद्यार्थी मानसिक सन्तुलन गुमाएर अस्पतालमा उपचाररत छन् र केहीलाई नेपाल फर्काइएको छ ।
टेक्सासको डिअफडब्लु एरियामा सडक क्षेत्रमा भेटिएका १४ जना विद्यार्थीैलाई उध्दार गरिएको नेपाली समाज टेक्सासले जनाएको छ ।
समाजका अनुसार उज्ज्वल भविष्यको खोजीमा विद्याथीै भिसा लिएर अमेरिका पुगेका केही नेपाली विद्यार्थीहरूको अवस्था निकै दुःखद र नाजुक बन्दै गएको छ।
हालसालै अमेरिका, टेक्सास राज्यको डल्लस–फोर्टवर्थ क्षेत्रमा सात जना नेपाली विद्यार्थी मानसिक सन्तुलन गुमाएर स्थानीय अस्पतालमा उपचाररत रहेका छन् भने थप सात जनालाई सहयोग रकम सङ्कलन गरेर नेपाल फर्काइएका्े समाजले जनाएको छ ।
नेपाली समाज टेक्सासका युवा तथा विद्यार्थी संयोजक प्रविस श्रेष्ठले दिएको जानकारीअनुसार अमेरिका भित्र अध्ययनरत करिब ३५ सय नेपाली विद्यार्थीमध्ये केही सामाजिक रुपमा घुलमिल हुन नसक्ने, परिवारको बेवास्ता भोग्ने र व्यवहारिक जीवन–दक्षतामा कमी भएकाले समस्या गहिरिँदै गएको हो।
श्रेष्ठले भने , “हामीले सडकमा बेवारिसे अवस्थामा भेटिएका सात विद्यार्थीलाई टिकट काटेर नेपाल फर्काएका छौं भने सात जनाको मानसिक सन्तुलन गुमेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।”
उनका अनुसार, धेरै विद्यार्थीहरू अध्ययनसँगै कामको चाप, कलेज ट्रान्सफरमा देखिने कठिनाइ र जागिर पाउने समस्या समाधान गर्न नसक्दा मानसिक रोगको शिकार भएका छन्।
“१२ कक्षा सकेर आएका विद्यार्थीहरूलाई यहाँका व्यवहारिक पक्षबारे थोरै मात्र जानकारी हुने भएकाले उनीहरू ठुलो कठिनाइमा पर्छन्,” श्रेष्ठले भने।
अमेरिकामा पढाइ सजिलो छ भन्ने भ्रममा अनेक सपना बोकेर आएका विद्यार्थीहरू अपेक्षित वातावरण नपाउँदा निराश भई मानसिक असन्तुलनको अवस्थामा पुगेको संयोजक श्रेष्ठले बताए ।
उनले थपे,“सोचेजस्तो छैन यहाँको जीवनशैली, सरकारको नयाँ नियम र नीतिले अझै विद्यार्थीहरूलाई दबाबमा पारेको छ।”
युलेस सिटीका उपमेयर टिकाराम पौडेलले समेत नेपाली विद्यार्थीहरू मानसिक उपचारमा रहेको पुष्टि गरेका छन्। तर, बिरामी विद्यार्थीहरूको व्यक्तिगत विवरण गोपनीय राखिएको उनले स्पष्ट पारेका छन्।
शैक्षिक वर्ष २०२५ को पहिलो तीन महिनामा १ हजार ४ सय ९५ जना नेपालीले एफ १ विद्यार्थी भिसा प्राप्त गरेका छन् जसमा ७ सय १२ जना अक्टोबरमा, १ सय ६७ जना नोभेम्बरमा, ६ सय १६ जना डिसेम्बरमा भिसा पाएका थिए ।
अमेरिकी एसइभिआइएस प्रणाली अनुसार, अहिले अमेरिका भित्र अध्ययनरत कुल १६९३३ जना नेपाली विद्यार्थीहरू छन्—जसमा १०७३० जना पुरुष र ६५०३जना महिला शामिल छन् ।
यो सङ्ख्या जनवरी २०२४मा २०१५३ थियो र मार्च २०२४मा २३४३५ सम्म पुगेको थियो र हाल केही घटेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्