भूमि विधेयकमा विरोध गरेर बस्नु हुँदैनः सांसद भट्टराई


काठमाडाैँ । राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा विरोध गरेर बस्ने अवस्था नरहेको बताएका छन् ।

राष्ट्रिय सभामा मंगलवार विधेयकमाथिको छलफलमा भाग लिँदै उनले भूमिहिन सुकुम्वासीहरुको व्यवस्थापन गर्ने भनेर राजनीतिक नारा लगाउने तर नियमन गरेर टुंगो लगाउने कुरामा कहिल्यै सहमत नहुने परिस्थितिको अन्त्य गर्न जरुरी रहेको बताए ।

यो विधेयकले भूमिहिन सुकुम्वासीका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । विधेयकले भूमिहिन सुकुम्वासी, दलित लगायतहरुलाई एक पटक भूमिको मालिक बनाउने वा जग्गा उपलब्ध गराउने लक्ष्य बोकेको उनले बताए ।

 उनले भने, “लामो समयदेखि भूमिहिन सुकुम्वासी, दलित लगायतहरुलाई एक पटक भूमिको मालिक बनाउने वा जग्गा उपलब्ध गराउने कुरा यो विधेयकले यही कुरालाई बोकेको छ । धेरै वर्षदेखि हामीले भूमिहिन सुकुम्वासीहरुको व्यवस्थापन गर्ने, राजनीतिक नारा लगाउने, नियमन गरेर टुंगो लगाउने कुरामा सहमत कहिल्यै नहुने अवस्था भयो । यो विधेयकले त्यो समस्या समाधान गर्दछ । यो विरोधले काम गर्दैन । विधेयकलाई अघि बढाउनुपर्छ । नियमन गरेर अघि जानुपर्छ ।”

सांसद भट्टराईले दलित र भूमिहिनहरुको समस्या पनि ज्युँकात्युँ रहेको बताउनु भयो । यि सबै समस्या समाधान गर्न विधेयक सक्षम हुने जिकिर गरे ।