पाेषण कन्सर्नः ट्रान्सफ्याटकाे बढ्दाे जाेखिम र नियमनका सवाल


ट्रान्सफ्याटका मुख्य दुई स्रोत छन् । प्रमुख स्रोत भनेको प्राकृतिक रूपमा पशुपन्छीजन्य पदार्थबाट प्राप्त हुने चिल्लो पदार्थ दूध, दही, घ्यु, अण्डा, मासु, दूध तथा मासुबाट बन्ने अन्य पदार्थ हुन् । अर्को स्रोत भनेको कृतिम स्रोत हो । होटेल रेस्टुराँ वा घरमा पनि एक पटक खानेकुरा तारी सकेको तेललाई पटक पटक प्रयोग गर्दा पनि ट्रान्सफ्याटको मात्रा बढ्छ । 

मतिना वैद्य जोशी

मानिसको खानपानको शैली परिवर्तनशील छ । विशेषगरी नेपालभित्र पनि सहर केन्द्रित बसाइँ, वैदेशिक रोजगारी, अध्ययन वा घुमघामका लागि विश्वभर जाने आउने वातावरण बन्नु र नेपालीमा क्रयशक्ति बढ्दा खाद्य वस्तु आयात निर्यातमा बढोत्तरी हुँदा पनि खानपानको शैलीमा परिवर्तन भइरहेको पाइन्छ । विश्वभरका कुनै पनि खाद्य वस्तु नेपालमा खान चाह्यौं भने पाउन सकिने अवस्था छ । यस्तोमा एकातिर खाद्य वस्तुको नाममा अखाद्य वस्तु उपभोग गर्ने वा खाद्य वस्तुमा लेखिएको लेभल नहेरी उपभोग गर्दा पनि पोषण सुरक्षामा जोखिमता थपिने गर्दछ । 

कुनै पनि खाद्य वस्तुको गुणस्तर महत्वपूर्ण सवाल हो । मानव स्वास्थ्यमा हानि नपुगोस् भन्नाको खातिर गुणस्तरीय खाद्य वस्तु उत्पादन तथा उपभोग हुनेपर्ने र उपभोक्ताले पनि उत्तिकै सचेत भएर खाद्य वस्तुको उपभोग गर्नुपर्ने हुन्छ । गुणस्तरका विषयमा सयौं सवाल र मापदण्ड छन् । तर यहाँ हालसम्म नेपालमा मापदण्ड बनी नसकेको तर उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने ट्रान्सफ्याटको बारेमा केन्द्रित भएर चर्चा गर्ने कोसिस गरिएको छ । 

‘ट्रान्सफ्याट’ र यसको असर

ट्रान्सफ्याट वा ट्रान्सफ्याटी एसिड भनेको खाद्य पदार्थमा पाइने तर मानव स्वास्थ्यका लागि नकारात्मक असर गर्ने पदार्थ हो । जसका कारण मानिसमा निकै गम्भीर खालका स्वास्थ्य समस्या बेहोर्नु पर्ने अवस्था पनि आउन सक्छ । ट्रान्सफ्याटका मुख्य दुई स्रोत छन् । प्रमुख स्रोत भनेको प्राकृतिक रूपमा पशुपन्छीजन्य पदार्थबाट प्राप्त हुने चिल्लो पदार्थ दूध, दही, घ्यु, अण्डा, मासु, दूध तथा मासुबाट बन्ने अन्य पदार्थ हुन् । यी पदार्थको अधिक प्रयोगले पनि शरीरमा ट्रान्सफ्याटको मात्रा बढ्न सक्ने भएकाले आवश्यक वा कम मात्रामा मात्र उपभोग गर्नुपर्ने हुन्छ ।

अर्को स्रोत भनेको कृतिम स्रोत हो । उद्योगहरूमा प्रशोधन गरिने खानेतेल तथा चिल्लो प्रयोग गरिने अन्य प्याकेजिङ गरिएका प्रशोधित खाद्य पदार्थमा ट्रान्सफ्याट पैदा हुुने गर्दछ । कोल्ड स्टोरमा राखिएका खाद्य पदार्थमा ट्रान्सफ्याटको मात्रा पाइने भएकाले सचेत रहनुपर्ने हुन्छ । होटेल रेस्टुराँ वा घरमा पनि एक पटक खानेकुरा तारी सकेको तेललाई पटक पटक प्रयोग गर्दा पनि ट्रान्सफ्याटको मात्रा बढ्छ । 

ट्रान्सफ्याटले शरीरमा खराब खालको कोलेस्ट्रोलको मात्र बढाउने र आवश्यक पर्ने कोलेस्ट्रोल घटाउने गर्दछ । जसका कारण कम उमेरमा हृदयघात हुनेजस्ता समस्या मानिसले भोग्न थालेका छन् । किड्नीको बिरामी हुनुका साथै मोटोपनको कारण पनि ट्रान्सफ्याट बन्ने गरेको छ । ट्रान्सफ्याटको नकारात्मक असरका बारेमा विभिन्न अध्ययनले देखाएका प्रतिवेदनअनुसार विभिन्न राज्यले नियमनका लागि नीतिगत व्यवस्था गर्न थालेका पनि छन् ।

ट्रान्सफ्याटले शरीरमा खराब खालको कोलेस्ट्रोलको मात्र बढाउने र आवश्यक पर्ने कोलेस्ट्रोल घटाउने गर्दछ । जसका कारण कम उमेरमा हृदयघात हुनेजस्ता समस्या मानिसले भोग्न थालेका छन् । किड्नीको बिरामी हुनुका साथै मोटोपनको कारण पनि ट्रान्सफ्याट बन्ने गरेको छ ।

ट्रान्सफ्याट अधिक पाइने खाद्य वस्तुहरू

ट्रान्सफ्याटले सिधै मुटुको धमनीमा असर गर्ने गरेको अध्ययनले देखाएको छ । शरीर कमजोर भएको महसुस गर्नु वा थकान धेरै लाग्नुजस्ता समस्या पनि ट्रान्सफ्याटको कारण हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले ट्रान्सफ्याटले मानव स्वास्थ्य जोखिममा पर्ने भन्दै यसको पूर्णरूपमा निस्तेज गर्नुपर्ने सुझाएको छ । छिमेकी मुलुक भारतलगायतका विश्वका विभिन्न देशमा यसको नियमनका लागि नीति तथा कार्यक्रम अगाडि ल्याइसकिएको छ । नेपालमा पनि चिल्लो पदार्थको अधिक उपभोग हुने भएकाले थप सचेतता आवश्यक देखिन्छ । ट्रान्सफ्याट उपभोग नै गर्नु हुँदैन भन्ने पनि होइन, यसको मात्रामा नियन्त्रण गर्नुपर्ने हुन्छ । 

नेपालमा हिमाल, पहाड वा तराई जता पनि पाइने जंकफुड र फ्रोजन फुड नेपालमा ट्रान्सफ्याट पाइने उत्पादन हुन् । सबैको प्रिय आइसक्रिममा ट्रान्सफ्याट पाइन्छ । कुकिज र बिस्कुट पनि ट्रान्सफ्याट पाइने गर्छ । चिप्स, भुजियाजस्ता उत्पादनमा पनि पाइन्छ । बटरको प्रयोग गरिएको पपकर्नमा पनि ट्रान्सफ्याटको प्रयोग गर्ने गरिन्छ । यी प्याकेजिङ गरिएका वस्तुमा मात्र नभई हामीले खाने फास्टफुड बर्गर, पिजा, स्यानडविच, फ्रेन्च फ्राइ, परोठा, समोसालगायतमा पनि ट्रान्सफ्याट पाइन्छ । 

मासुमा रहेको बोसो, गाईवस्तुबाट आउने घ्युहरूबाट आउने कुरामा त्यसलाई हामीले हटाउन सक्दैनौं । यी वस्तुलाई हामीले थोरै मात्रमा खानु नै उत्तम विकल्प हो । यीबाहेक वनस्पतिजन्य प्राकृतिक स्रोतलाई प्रयोग गरेर कृतिम ट्रान्सफ्याट उत्पादन भइरहेको हुन्छ । जब वनस्पतिजन्य तेललाई हाइडोनेसन गरेर वनस्पति फ्याक्टमा परिर्वतन गरिन्छ, त्यहाँ ट्रान्सफ्याट उत्पत्ति हुन्छ । वनस्पति घ्युलाई तेलमा परिणत गर्न यो प्रक्रिया अपनाइन्छ । जम्ने प्रकृतिको घ्युलाई तरल बनाइए पनि बेकरी उत्पादनमा प्रयोग गर्न सहज हुन्छ । यसो गर्दा प्राकृतिक ट्रान्सफ्याटभन्दा अलिक सस्तो पनि पर्ने हुनाले उद्योगहरूले यो प्रक्रिया अपनाउने गर्छन् । 

ट्रान्सफ्याट नियमनको सवाल

विश्व स्वास्थ्य संगठनले ट्रान्सफ्याटको कमी गर्न विश्वका मुलुकलाई अनुरोध गरिरहेको सन्दर्भमा नेपालले पनि जिम्मेवार भई जनस्वास्थ्यलाई असर गर्ने यो विषयलाई नियमन गर्ने पहलकदमी सुरु गरिसकेको छ । सरकारी निकायमा स्वास्थ्य मन्त्रालय र खाद्य प्रविधि विभाग प्रमुख तालुकदार निकाय हुन् । सहजताका लागि विभागले मुख्य भूूमिका खेल्ने र स्वास्थ्य मन्त्रालय र मातहतका निकायले सहयोग गर्ने सहमति अनुरुप काम भइरहेको छ । नेपालमा दुईवटै निकायबाट यससम्बन्धी स्थानीयस्तरमा अध्ययन पनि भइरहेका छन् । अध्ययनले ट्रान्सफ्याटको अधिक प्रयोग भइरहेकाले नियमन गर्नुपर्ने निष्कर्ष निकालेका पनि छन्।

ट्रान्सफ्याट नियमनका लागि एकीकृत मापदण्ड बनाउनु आजको आवश्यकता हो । तर नीतिगत रूपमा विभागबाट यसको नियमनको कार्य गर्न पनि कानुनी बाटो खुला नै छ । हाल पुनः प्रयोग गर्ने तेलमा टीपीएम भ्यालु २५ भन्दा माथि आएको तेल प्रयोग गर्न नपाउने व्यवस्था छ । यो विषय सरकारले राजपत्रमा पनि प्रकाशित गरको विषय हो । विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि फाइन तेलको टीपीएम भ्यालु २५ भन्दा मुनि राख्नुपर्ने देखिन्छ । 

विश्व स्वास्थ्य संगठनले ट्रान्सफ्याटले मानव स्वास्थ्य जोखिममा पर्ने भन्दै यसको पूर्णरूपमा निस्तेज गर्नुपर्ने सुझाएको छ । छिमेकी मुलुक भारतलगायतका विश्वका विभिन्न देशमा यसको नियमनका लागि नीति तथा कार्यक्रम अगाडि ल्याइसकिएको छ । नेपालमा पनि चिल्लो पदार्थको अधिक उपभोग हुने भएकाले थप सचेतता आवश्यक देखिन्छ । ट्रान्सफ्याट उपभोग नै गर्नु हुँदैन भन्ने पनि होइन, यसको मात्रामा नियन्त्रण गर्नुपर्ने हुन्छ । 

फ्राइ गर्ने तेललाई डिजिटल मिटरमा जाँच्न सकिन्छ । यदि २५ भन्दा माथि गयो भने त्यो रेड हुन्छ र त्यसलाई फाल्ने गरिन्छ । यस्तो मापदण्डको प्रयोग रेस्टुराँमा तारिने खाद्य पदार्थ चिकेन, माछा, पकौडा, रोटी, समोसा आदिमा तेलको मापदण्ड पुगे नपुगेको जाँच गर्नुपर्ने हुन्छ । ट्रान्सफ्याट भएका वस्तु उपभोग नै गर्नु हुँदैन भन्ने हैन । तर आवश्यकताअनुसार कम उपभोग गर्ने बानी गर्नु राम्रो हुन्छ । 

खाद्य वस्तुमा ट्रान्सफ्याटको मात्रा यति नै हुनुपर्छ तोकेरै अगाडि बढ्नुपर्ने अवस्था छ । छिटै नै यस विषयमा सरकारले एकीकृत रूपमा नियमन गर्ने तयारी भने गरिरहेको छ । प्रशोधित वस्तुको लेभलमै ट्रान्सफ्याटको मात्र खुलाउनुपर्ने हुन्छ, ताकी मात्रा हेरेर उपभोक्ताले वस्तु उपभोग गर्न सकुन् । यसका लागि विभागले तयारी गरिरहेको छ । विभागले सन् २०२३ सम्ममा ट्रान्सफ्याट नियमन गर्ने लक्ष्य लिइएको छ । विश्व स्वास्थ्य संगठनले पनि धारणा बनाउन सहयोग गरेको छ ।

थाइल्यान्ड, भारतलगायत एसियाका विभिन्न मुलुकमा नियमन गर्दाका अनुुभव पनि हामीले लिएका छौं । कतिपय मुलुकहरूले ट्रान्सफ्याटलाई बन्दै पनि गरेका छन् । हामी पनि नियमन गर्ने तहमा छौं । पोषण सुुरक्षासँग सम्बन्धित विषय भएकाले सबैले यसको नियमनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिरहेकोमा हामी पनि यसको असर कम गर्न छिटै लक्ष्य निर्धारण गरेर हासिल गर्नेमा विश्वस्त छौं । 

उद्योग तथा होटेल रेस्टुराँको उत्तरदायित्व

सरोकारवाला सजक भएमा हामीले ट्रान्सफ्याटको उत्पादन कम गरेर मानव स्वास्थ्य बचाउन भूमिका खेल्न सक्छौं । स्वास्थ्य जनशक्तिले मात्र मुलुकको अर्थतन्त्र हाक्न सक्छ । त्यसैले ट्रान्सफ्याट प्रयोग हुने खाद्य पदार्थ उत्पादन तथा बजारीकरण गर्ने निकाय र होटेल रेस्टुराँसमेतले यस विषयमा सचेत रहनुपर्ने हुन्छ । उत्पादक पनि कुनै न कुनै रूपमा उपभोक्ता पनि हो । त्यसैले आफूले ढुक्कले खान सक्ने वस्तुमात्र बिक्री वितरण गरिनुपर्छ ।

हामीले उद्योगीहरूसँग यस विषयमा छलफल पनि गरेका छौं । निकै सकारात्मक प्रतिक्रिया पाएका छौं, सुधारको प्रतिबद्धता पाएका पनि छौं । अर्कोतर्फ  तेललाई कालो नभएसम्म प्रयोग गर्ने नफेर्ने अनि फेरि हाले पनि त्यसैमा तेल थप्दै जानेजस्ता कार्यले होटल रेस्टुराँमा ट्रान्सफ्याट उत्पादन भइरहेको छ । तेलको प्रयोगमा ख्याल गर्नुपर्ने हुन्छ । हामीले छलफल गर्दा होटल एसोसिएसन, डेरी एसोसिएसन लगायतका सरोकारवालाले यसलाई कम गर्न, नियमन गर्न सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । यसले पनि नियमन गर्नमा सहजता थपिने विश्वास लिएका छौं । 

उपभोक्ता सचेतनाको खाँचो 

कुनै पनि उपजको उपभोगका लागि उपभोक्ता निकै महत्वपूर्ण पक्ष मानिन्छ । आजको युगमा उपभोक्ता पनि आफ्नो स्वास्थ्यमा सचेत हुनुपर्छ । विस्तारै प्याकेजिङ गरिएको उपजमा ट्रान्सफ्याटको लेभल पनि उल्लेख गर्ने अवस्था आउँछ, त्यसपछि उपभोक्तालाई थप सहज हुनेछ । यद्यपि कुन कुन उपजमा ट्रान्सफ्याटको मात्रा अधिक रहने सम्भावना छ, ती वस्तु कम उपभोग गर्ने गर्नुपर्छ । घर वा होटल रेस्टुराँमा तारेको खाने कुरा उपभोग गर्दा अलिक चनाखो हुनुपर्छ ।

थाइल्यान्ड, भारतलगायत एसियाका विभिन्न मुलुकमा नियमन गर्दाका अनुुभव पनि हामीले लिएका छौं । कतिपय मुलुकहरूले ट्रान्सफ्याटलाई बन्दै पनि गरेका छन् । हामी पनि नियमन गर्ने तहमा छौं । पोषण सुुरक्षासँग सम्बन्धित विषय भएकाले सबैले यसको नियमनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिरहेकोमा हामी पनि यसको असर कम गर्न छिटै लक्ष्य निर्धारण गरेर हासिल गर्नेमा विश्वस्त छौं । 

हामीले यो सोच्नु भएन कि तारेको खानामा मात्र ट्रान्सफ्याट हुन्छ भनेर, यो  फोरजन डिजेटमा पनि हुन्छ । अहिलेको अवस्थामा हामीले शारीरिक व्यायामलाई पनि ख्याल गर्नुपर्छ । सचेत उपभोक्ताका कारण उत्पादक र नियामक निकायलाई पनि नियमन गर्न सहज हुन्छ । कुनै विषयमा शंका लागेमा सम्बन्धित निकायमा उजुरी गर्ने बानी पनि उपभोक्ताले गर्नुपर्ने हुन्छ । उपभोक्ता सचेतना राज्यको पनि दायित्व हो । उपभोक्तावादी संघसंस्था वा सञ्चार माध्यमले पनि उत्तिकै भूमिका खेल्नुपर्ने देखिन्छ ।

(जोशी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक हुन्)

(टक्सार म्यागजिन, भाद्र २०७९, पृष्ठ ५१ देखि ५२)