पूर्व राष्ट्रपति यादवले भने: जेनजी आन्दोलनका नाममा संवैधानिक संरचना ध्वस्त गर्ने नियोजित प्रयास अस्वीकार्य छ


काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले जेनजीले गत भदौ २३ गते भएको आन्दोलनका क्रममा देखिएको हिंसा, आगजनी, तोडफोड र लुटपाटप्रति दुःख प्रकट गर्दै यस्तो गतिविधिले मुलुकलाई स्तब्ध तुल्याएको बताएका छन्।

शुक्रबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले अकालमै ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे।

डा. यादवले युवाहरूले उठाएका मागहरू भ्रष्टाचारको अन्त्य, अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सुनिश्चितता र उत्तरदायी शासन प्रणाली सबैका साझा अभीष्ट भएको उल्लेख गरे।

तर आन्दोलनका नाममा देशका संवैधानिक निकाय, न्यायिक संरचना, मन्त्रालय, सिंहदरबार, शीतल निवासदेखि स्थानीय तहका कार्यालयसम्ममा भएको विध्वंस नियोजित जस्तो देखिएको भन्दै यसको वास्तविक उद्देश्य र कारक पहिल्याउन जरुरी रहेको उनको भनाइ छ।

उनले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएका उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरूमा गरिएको तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिले भविष्यमा देशलाई घातक असर पार्ने चेतावनी दिए।

आन्दोलनपछि उत्पन्न राजनीतिक–प्रशासनिक अन्योल अन्त्य गरी नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न राज्यका जिम्मेवार निकायलाई आग्रह गर्दै डा. यादवले संविधान २०७२ को सही कार्यान्वयन नै युवापुस्ताको आकांक्षा पूरा गर्ने आधार भएको स्पष्ट पारे। सात दशक लामो संघर्ष र सयौं शहीदको बलिदानपछि बनेको संविधानलाई ध्वस्त पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो।

त्यस्तै, उनले आन्दोलनमा घाइते भई उपचाररत व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।