काठमाडाैँ । काठमाडौँको पर्यटकीय गन्तव्य चन्द्रागिरि केबलकारले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले ठूलो क्षति पुगेको जनाएकाे छ ।
कम्पनीका अनुसार जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी र समग्र आर्थिक समृद्धिका मुद्दा प्रति कम्पनीको सम्मान कायम छ। तथापि, आन्दोलनका क्रममा भएको अकल्पनीय गतिविधिका कारण पब्लिक लिमिटेड कम्पनीको रूपमा सञ्चालन हुने चन्द्रागिरि केबलकारमा ठुलो क्षति पुगेको जनाइएकाे छ।
“चन्द्रागिरि केबलकार केवल एक लगानीको संस्था होइन, लाखौं शेयरधनीको साझा लगानी हो र राष्ट्रिय सम्पत्ति पनि हो। यसले नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ,” विज्ञप्तिमा भनिएको छ।
कम्पनीका अनुसार गुणस्तरीय सेवामार्फत नेपालका पर्यटकहरूलाई अझ राम्रो अनुभव दिनको लागि अठोट अझै दृढ छ। क्षति कम गर्न खटिएका सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूको सक्रिय सहयोगप्रति कम्पनीले धन्यवाद व्यक्त गरेको छ।
चन्द्रागिरि हिल्सले आगजनी नियन्त्रण र स्थानीय समुदायसँगको समन्वयका लागि सम्बन्धित निकायसँग अनुरोध समेत गरेको छ। कम्पनीले पर्यटक तथा दर्शनार्थीहरूलाई परेको असुविधाप्रति क्षमा प्रकट गरेको छ र छिट्टै सेवा पुनः सुरु गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस्