काठमाडाैँ । आजबाट काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । अघिल्ला वर्षहरुमा तामझामका साथ यस्ता पसलहरूको शुभारम्भ गरिने गरिएपनि यसपटक औपचारिक कार्यक्रम बिनै सुरू गरिएको हो । त्यस्ता पसलहरूमा नागरिकले ५–१० रुपैयाँ छुट पाउन सक्नेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख धर्मकुमारी राजवंशीले खाद्य व्यवस्था कार्यालयबाट चामल, मसलाजन्य सामाग्रीहरु, केराउ, दाल, तेलहरू बिक्रिमा राखिएको बताए ।
उनकाअनुसार चामल, गहु दाल, केराउमा प्रतिकेजी ५ रुपैँया छुट दिइएको छ भने चिनीमा ५ रुपैयाँले छुट दिइएको छ । यस्तै, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ मसलाहरूमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिइएको छ भने तेलमा प्रतिलिटर ७ रुपैयाँका दरले छुट दिएको छ । खाद्यले सिमि, फापर, मार्सि, बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ ।
उनले प्रतिकेजी १० रुपैयाँ छुट दिने निर्णय भएपनि यसपटक खसी बोका आउने/नआउने निश्चित नरहेको जानकारी दिए। आन्दोलनको प्रभावका कारण खसीबोका ल्याउन नसकिएको उनको भनाइ छ ।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले समेत सुपथ मूल्यका पसलहरू सञ्चालनमा ल्याएको छ । साल्टले सहुलियत दिएर आयो नुन २४ रुपैयाँमा बिक्री गरेको छ भने २ केजीको चिनीलाई १९० रुपैयाँमा सहुलियतपसलहरुमार्फत बिक्री गरेको छ ।
भान्साघर चामल, एसटीसी सोना मनसुली चामललगायतमा समेत छुट दिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । साल्ट ट्रेडिङका अनुसार यस वर्ष देशभर तीन दर्जन स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यकामा भने कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा पसल खुलाइएका छन् । उपत्यकाबाहिर झापाको विर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुर र पर्साको वीरगञ्जमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्