काठमाडाैँ । सरकारले दसैँमा काठमाडौँबाट बाहिरिने सार्वजानिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङ्गमार्ग प्रयोग गर्न दिने निर्णय गरेको छ ।
शनिवार उर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो ।
भौतिक पुर्वाधार तथा यातयातमन्त्री घिसिङले नागढुंगा–सिस्नेरी सुरुङ्गमार्गलाई परिक्षणको रुपमा सार्वजानिक सवारीलाई दशैँ अगाडी नै सञ्चालन गर्ने बताए ।
उनले निर्माण कम्पनीले सुरक्षाको हिसाबले चलाउन नसकिने बताएपनि परीक्षणको रुपमा सञ्चालन गर्नको लागि निर्देशन दिएको जानकारी दिए । दसैँ पछाडी भने सुरुङ्गमार्ग प्रवेशमा रोक लगाईने बैठकले निर्णय गरेको छ । बैठकले चाडबाडलाई लक्षित गरी यातायात व्यवस्थापन र सडक सुरक्षाका सन्दर्भमा विभिन्न ७ वटा निर्णय गरेको छ ।
काठमाडाैँ उपत्यकाको नयाँ बसपार्क तथा विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्ने, बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर लागू हुनेगरी ठूला भारवाहन सवारी साधनहरू सञ्चालनमा रोक लगाउने, खाध्यान्न लगायतका अत्यावश्यक सामग्रीहरू ढुवानी गर्ने सवारी साधनहरूलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने निर्णय गरिएको मन्त्री घिसिङले जानकारी दिए।
बुटवल– नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणगढ—मुग्लिङ सडक खण्डको तुइन खोलामा भएको पहिरो हटाई तत्काल यातायात सञ्चालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्ने निर्णय बैठकले गरेको छ ।
मौसम र सडकको अवस्था वुझेर मात्र यात्रा गर्न सार्वजनिक सूचना जारी गर्ने, देशभरको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुनेगरी फोकल पर्सनको व्यवस्थापन गर्ने र सार्वजानिक सवारी साधनहरूलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले कार्यविधि/निर्देशिका तयार गरी यथाशीघ्र मन्त्रालयमा पेश गर्न निर्देशन दिने निणर्य बैठकले गरेको छ ।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्