काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएका परिवार सरस्वती रावलले आन्दोलनको बलिदानीलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गरेकी छन् ।
शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले जेनजी आन्दोलन परिवर्तन, सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलन भएकाले यसको बलिदानी खेर जान नहुने बताएकी हुन् । “बलिदानी खेर जाने अवस्था आयो भने म फेरि गोली खान तयार छु,” उनले भनिन् ।
रावलका अनुसार जेनजी आन्दोलनमा ठूलो संख्यामा सहभागी युवाले बलिदानी दिएका छन् भने हजारौँ घाइते भएका छन् । मृतक परिवारको व्यवस्थापन, घाइतेको उपचार, जीविकोपार्जन र सुरक्षाको ग्यारेन्टी सरकारले तत्काल गर्नुपर्नेमा उनले जोड दिइन्।
जनयुद्धका बेला १० वर्ष सक्रिय रहेकी र तीन वर्ष जेल बसेकी रावलले आफू अभिभावकको हैसियतमा आन्दोलनलाई पछि हट्न नदिने बताइन् । उनका छोरा आदित्य रावलको शरीरमा तीन वटा गोली लागेको र अझै पेटमा एउटा गोली रहेको जानकारी पनि दिइन् ।
उनले जेनजी आन्दोलनमा देखिएको विभाजन अन्त्य गरी सबैलाई एकताबद्ध हुन आह्वान गरिन्। “जेनजीको नाममा अरुले अवसर लिएका छन्, अब सबै एकजुट हुनुपर्छ,” उनले भनिन् ।
सोही कार्यक्रममा घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले सरकारलाई उपचारको दीर्घकालीन व्यवस्था गर्न आग्रह गरिन्। सहभागी सुप्रिया परियार, गोकर्ण विष्ट र सुरेश ऐरीले पनि आन्दोलनका माग तत्काल सम्बोधन गर्नुपर्ने बताइन्।
उनीहरूले देशमै रोजगारी सिर्जना, आन्दोलनमा घाइते भएका व्यक्तिहरूको दीर्घकालीन उपचार, २०४६ सालपछि उच्चपदस्थ व्यक्ति तथा कर्मचारीमाथि छानबिन गरी कारबाही, आन्दोलनमा गोली चलाउने आदेश दिनेहरूलाई कारबाही र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने माग प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्