मुलुकमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरु क्रियाशील छन्ः प्रदीप ज्ञवाली


काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको बताएका छन् ।

प्रगतिशील लेखक संघ, नेपालले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा उनले मुलुकमा व्यवस्था विरोधी तत्वहरुले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताएका हुन् ।

तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारणमात्रै मुलुक दुर्घटना हुनबाट बचेको पनि बताए । उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुलमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरुले चलखेल गरिरहेको बताएका छन् ।

उपमहासचिव ज्ञवालीले राजनीतिक दलहरुलाई पेलेर निर्वाचन गराउन प्रयास भएपनि त्यो भने सम्भव नहुने बताए ।