काठमाडाैँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल मिसन प्रमुख जहान सरवतबिच सोमबार भर्चुअल बैठक सम्पन्न भएको छ ।
बैठकमा हालै नेपालमा देखिएका राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव तथा आर्थिक सुधार कार्यक्रमको निरन्तरता विषयमा छलफल गरिएको छ ।
बैठकमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारे।
उनले जेन्जी युवाहरूको नेतृत्वमा हालै भएको प्रदर्शनले उठाएको सुशासन र स्वदेशमै रोजगारी सिर्जना गर्ने मागलाई सरकार गम्भीरतापूर्वक सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषसहितका विकास साझेदारको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधार कार्यक्रमलाई अझै तीव्रता दिइने जानकारी दिए ।
बैठकमा आईएमएफको सहयोगमा सञ्चालनमा रहेको ‘एक्सटेन्डेड क्रेडिट फेसिलिटी’ को कार्यान्वयन अवस्थामाथि समीक्षा गर्दै यसको छैटौं समीक्षा प्रतिवेदन छिट्टै आईएमएफ बोर्ड बैठकमा पेस गर्ने विषयमा समेत छलफल भएको थियो ।
मिसन प्रमुख जहान सरवतले नयाँ सरकारसँग सहकार्य गर्दै नेपालमा आर्थिक सुधार कार्यक्रमलाई थप प्रभावकारी बनाउन आईएमएफ तयार रहेको बताए । उक्त बैठकमा आईएमएफका नेपालस्थित आवासीय प्रतिनिधि प्रणव गुप्ता पनि उपस्थित थियाे ।
प्रतिक्रिया दिनुहोस्