जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकाका ६० स्थानमा दमकल परिचालन गरेका महानगरको दाबी


काठमाडाैँ । गत भदाै २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न ६० स्थानमा भएका आगलागी घटनामा काठमाडौँ महानगरपालिकाले पूर्ण रूपमा दमकल परिचालन गरेको जनाएकाे छ ।

महानगरको विपद् व्यवस्थापन विभागका अनुसार उपलब्ध ५ वटै दमकल खटाइएर आन्दोलनका कारण उत्पन्न आगोबाट थप क्षति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरिएको थियो। यद्यपि, आन्दोलनकारीहरूको जुलुस, सडक अवरोध र ढुङ्गामुढाका कारण दमकलहरू तत्काल घटनास्थल पुग्न नसकेको विभागले जनाएको छ।

महानगरपालिका प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगर क्षेत्रमा मात्र नभई बाहिर पनि रहेका आगलागी नियन्त्रण गर्न प्रयास गरिरहेका थियाे । २४ गते बेलुकासम्म विभिन्न आगलागीमा दमकल पठाउन खोज्दा न्युरोड, बालाजु र रामहिटी बहुवटमा स्थित केन्द्रमा तत्काल उपलब्धता सीमित भएकाे उनले बताए ।

उनले भने,”जुलुस र आन्दोलनका कारण सडकमा अवरोध भएपछि दमकल घटनास्थलसम्म पुग्न सक्दैनथ्यो। न्युरोडबाट निस्कन खोज्दा त्यहीँ आगलागी भइरहेको थियो र दमकलको गेट अगाडि गाडीहरू जलिरहेका थिए। नेपाली सेनासँग समन्वय भए पनि तत्काल सम्भव थिएन।”

पाण्डेले थपे, “सचिवालयबाट पटक(पटक फोन आए, ‘दमकल किन निस्केन ? किन पुगेन? ’ भने तर हामीले ढिलाइ गरेका होइनौं। बौद्धबाट निस्कन खोज्दा चाबेलमा दमकलमाथि ढुङ्गामुढा गर्ने प्रयास भयो। पहिलो ८:३० बजे सिंहदरबारमा दुईवटा दमकल खटाएर ९:४५ सम्म निभाइएको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरेर मात्रै ‘प्राथमिकता’ अनुसार परिचालन गरियो। रातभरि दमकल खटाइएका थिए, भोलिपल्ट पनि दशौं चोटि घटनास्थलमा गएर आगो निभाइएको छ।”

विभागका अनुसार भदाै २३ गतेदेखि नै दमकल टोलीहरू सक्रिय थिए। संसद भवन अगाडि, एम्बुलेन्समा, सुन्धारा मोड, शान्तिनगरको बिजुलीको पोलमा जस्ता ठाउँमा ११ घण्टाभन्दा बढी समयसम्म आगो निभाउन दमकल परिचालन गरिएको थियो। भदाै २४ मा विशालबजारको जनसेवा प्रहरी वृत्त, हिमालय बैंक, नयाँ बानेश्वरको राष्ट्रिय वाणिज्य बैंक र सिंहदरबार परिसरभित्र तत्काल प्रतिक्रिया दिइएको थियो।

दमकल टोलीहरूले बिहान ११ बजेदेखि राति ८ बजेसम्म न्युरोड, बालाजु, रामहिटी जस्ता स्थानबाट सवारी साधन प्रयोग गरी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। साउन २३ र २४ मा मात्रै ३० भन्दा बढी आगलागीका घटनामा दमकल खटाइएका थिए। महानगर क्षेत्रबाहिर भागबगिनी, हिल्टन होटेल लगायत स्थानमा पनि दमकल परिचालन गरिएको थियो।

पाण्डेले भने, “सचिवालय र स्थानीय गुनासो अनुसार घटनास्थलमा तत्काल प्रतिक्रिया दिइएको थियो। जलाउने प्रयत्न गरिएका टायर, फोहोर र अन्य सामग्रीका आगो नियन्त्रणमा राख्न हामी रेडि थियौं। नेपाली सेना, प्रहरी र स्थानीयसँग समन्वय गर्दै सुरक्षित रूपमा दमकल परिचालन गरेका थियौं।”

महानगरपालिकाले पानीको पर्याप्त व्यवस्था पनि गरेको थियो। बालाजु र स्वयम्भू क्षेत्रबाट व्यक्तिगत र महानगरको सहयोगमा सयौं ट्यांकर उपलब्ध गराएर दमकलमा पानी फिलिङ गर्ने व्यवस्था गरिएको थियो।

अहिले महानगरले आन्दोलनपश्चात सफाइमा जुटेको छ। भदौ २५ गतेदेखि ३७४ टिपर फोहोर संकलन गरिएको छ, जसले सहरलाई छिट्टै सामान्य अवस्थामा फर्काउन सहयोग गरेको छ। विभागले आगामी दिनमा विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने योजना बनाएको जनाएको छ।