अर्थमन्त्री खनाल र एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टर कोस्वा बिच शिष्टाचार भेट


काठमाडाैँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैँकका कन्ट्री डाईरेक्टर आर्नो कोस्वा बिच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

उक्त बैठकमा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु रहेको र परिवर्तित समयमा युवाहरुको चाहनाबमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए ।

मन्त्री खनालले उर्जा¸ भौतिक पूर्वाधार¸ खानेपानी तथा विभिन्न विकास आयोजना लगायतका क्षेत्रमा एशियाली विकास बैंकले महत्वपूर्ण भूमिका खेलेको विषय उल्लेख गर्दै चालु आयोजनाहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।    

एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराए ।

उक्त बैठकमा अर्थ सचिव श्री घनश्याम उपाध्याय¸ वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा समेतको उपस्थिति रहेको थियो ।