काठमाडाैँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले आगामी फागुन २१ भित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने म्यान्डेट पाएको बताएका छन्।
सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै उनले सरकारले ६ महिनाभित्र जनतामा अनुभुति हुने गरी ठोस काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री खरेलले भने, “जसरी पनि फागुन २१ मा चुनाव हुनुपर्छ। त्यसलाई सम्भव बनाउनु पर्छ। दोस्रो कुरा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने बस्तुपरक कार्यान्वयन गर्ने हिसाबले देखिने गरी केही फाउन्डेशनहरू हामीले स्थापना गर्नुपर्छ। भ्रष्टाचार नियन्त्रण एकै छिनमा हुँदैन, ५ वर्ष लाग्ला, १० वर्ष लाग्ला, ३ वर्ष लाग्ला, १५ वर्ष लाग्ला। तर जनताले यो सरकार भ्रष्टाचार नियन्त्रणमा निर्मम छ र काम गर्दैछ भन्ने अनुभुति ६ महिनाभित्र बनाउन सकिन्छ। तेस्रो कुरा भनेको हामीले खरानी टक्टक्याउँदै हाम्रो जीवन र धरोहरहरूको पुनर्निर्माण गर्नु पर्छ। आज संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतको अवस्था हेर्नुस्। कस्तो कारुणिक दृश्य छ। अब हामी ६ महिनामा जनतामा अनुभुति हुने गरी केही कामहरू गर्छौं।”
उनले कर्मचारीहरूको काममा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गर्दै विगतमा राजनीतिक हस्तक्षेपका कारण कर्मचारीहरूले काम गर्न नसकेकाे बताए ।
सञ्चारमन्त्री खरेलले आगामी ६ महिनामा चुनाव, भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणका क्षेत्रमा सरकारको प्राथमिकता रहेकाे बताए।
प्रतिक्रिया दिनुहोस्