काठमाडौँ । नेपाल डेरी एसोसिएसनले २५औं विश्व स्कुल दूध दिवस नेपालमा विभिन्न कार्यक्रमसहित मनाउने भएको छ।
सन् २००० देखि हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्वभर मनाउन थालिएको यो दिवस नेपालमा भने वि.सं. २०७२ देखि औपचारिक रूपमा मनाइँदै आएको हो। यस वर्ष नेपालमा ११औं पटक दिवस भव्यताका साथ मनाइने भएको छ।
एसोसिएसनले यस वर्ष “बालबालिकाको स्वास्थ्य तथा उज्जवल भविष्य, दैनिक दूध अनिवार्य भन्ने नाराका साथ काठमाडौँको हाँडीगाउँस्थित सेन्ट जर्ज स्कुलमा भाेलि (बुधबार) विशेष ‘दूध पान कार्यक्रम’ आयोजना गर्ने जनाएको छ। साथै एसोसिएसनका प्रदेश र जिल्ला कार्यसमितिहरूले देशभर विभिन्न सचेतना कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन्।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार दूध पूर्ण पौष्टिक आहार भएकाले यसमा प्रोटिन, क्याल्सियम, भिटामिन, खनिजलगायत शरीरलाई आवश्यक पर्ने प्रमुख पोषक तत्व पाइन्छ। नियमित दूध सेवनले हड्डी र दाँत मजबुत बनाउन, प्रतिरक्षा प्रणाली सुदृढ गर्न र बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने दाहालले बताए ।
नेपालको पछिल्लो तथ्याङ्कअनुसार एक व्यक्तिले वार्षिक ९२ लिटर दूध सेवन गर्नुपर्नेमा हाल ८५ लिटर मात्र उपभोग भइरहेको एसोसिएसनले जनाएको छ। बालबालिकाको पोषण र स्वास्थ्य सुदृढीकरणका लागि यो अन्तर घटाउनुपर्ने आवश्यकता रहेको भन्दै विद्यालय, शिक्षक, अभिभावक र सरोकारवाला सबैलाई सचेत हुन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्