काठमाडाैँमा ट्राफिक व्यवस्थापन सुधार्न नयाँ ट्राफिक कोन र रिट्र्याक्टेबल बार प्रयोग


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गतको यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरू गरेको छ। यी सामग्री नेपालमै उत्पादन भएका हुन्।

आर्थिक वर्ष २०८०\८१ मा खरिद गर्ने योजना भए पनि प्रक्रृयागत चुनौतीका कारण यी सामग्री २०८१\८२ मा खरिद गरिएको हो। सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकुल निधिका अनुसार ट्राफिक कोनको उचाइ ९००–१,००० मिलिमिटर रहेको छ। पहिले प्रयोग हुने कोनभन्दा ठूला आकारका यी कोनले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको छ।

यी कोनहरू तल प्वालरहित र ३–५ केजी तौलका छन्, जसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि रोक्ने निधिले जानकारी दिए। “यी कोनहरू राति पनि स्पष्ट देखिन्छन्। एक सेटमा दुई ट्राफिक कोन र दुई कोन जोड्ने २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार राखिएको छ। हालसम्म १,२५० सेट खरिद गरिएको छ, जसमा कुल २५०० कोन र १२५० बार छन्,” निधिले थपे।

पहिलो चरणमा बुधबार यी कोनहरू सिंहदरबार–भद्रकाली, सिंहदरबार–माइतीघर र पद्मोदय मोडमा प्रयोग गरिएका छन्। विशेषगरी भद्रकाली–सिंहदरबारतर्फको मार्गमा लस्कर आकारमा कोन राख्दा विपरित दिशाबाट आउने सवारीको चाप कम हुने र माइतीघर–भद्रकाली तर्फ मोड्ने सवारीलाई लेन निर्वाध रूपमा प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।

कोन राख्ने काम काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टोलीको सहकार्यमा सम्पन्न भएको हो। निधिले भने, “ट्राफिक व्यवस्थापन साझा समस्या र समाधान हो। सहकार्य नै यसको आधार हो। यी कोनहरूको ब्याचवाइज प्रयोग गरी सरसफाई गरेर पुनस् प्रयोग गर्न सकिन्छ।”

सहायक विज्ञ निधिका अनुसार, सडक प्रयोगकर्ता, व्यवस्थापन गर्ने निकाय र ट्राफिक प्रहरी सबैको भूमिका र सहकार्य नै ट्राफिक व्यवस्थापनको आधार हो। “डेटा(आधारित वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापन प्रविधि अपनाउनु अनिवार्य छ,”उनले भने ।