काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय स्याङजाले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विहिबार साँझ करिब ६ः३० बजे पुतलीबजार नगरपालिका–१ शहीदचोकस्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरतर्फ जाँदै गरेको ग.१ ज. ४६८५ नम्बरको ट्याक्सीमा औषधि लुकाइ ल्याएको अवस्थामा दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा तनहुँ, व्यास नगरपालिका–५ का ३२ वर्षीय अशोक बाँचे मगर, जसले सो ट्याक्सी चलाइरहेका थिए र कास्की, पोखरा महानगरपालिका वडा नम्बर २३ पामे बस्ने २७ वर्षीय नबिन परियार रहेका छन्। उनीहरूले ट्याक्सीको चालक सिटमुनी लुकाइ–छिपाइ ल्याएको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीमा Phenergan (२ एमएल) का ९० एम्पुल, Diazepam (२ एमएल) का ९० एम्पुल र Buprenorphine (२ एमएल) का ९० एम्पुलसहित जम्मा २७० एम्पुल रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले बरामद गरिएको ट्याक्सी र दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्