अमेरिकी सरकार ठप्प: अमेरिकामा रहेका नेपाली र नेपालमा कस्तो प्रभाव पर्छ?


काठमाडौं।
संयुक्त राज्य अमेरिकाको संघीय सरकार एकपटक फेरि ठप्प भएको छ। असोज १४ गते मध्यरात (अक्टोबर १, अमेरिकी समय) सम्ममा सरकारी खर्च सम्बन्धी विधेयकमा कांग्रेसले सहमति जुटाउन नसकेपछि यो ‘गवर्नमेंट शटडाउनकाे संकट उत्पन्न भएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आएको यो सटडाउनले अमेरिकी राजनीतिमा गहिरिएको विभाजन र टकरावलाई मात्र उजागर गरेको छैन, यसले लाखौं अमेरिकी कर्मचारीको जीवन, अर्थतन्त्र र विश्व सम्बन्धमा पार्ने प्रभावबारे गम्भीर बहस सिर्जना गरेको छ। 

यो सटडाउन केवल बजेटको अंकमा भएको असहमति मात्र होइन, स्वास्थ्य सेवाको भविष्य र सरकारको भूमिकालाई लिएर दुई प्रमुख दलबीचको वैचारिक लडाइँको परिणाम पनि हो। अहिले याे विश्वभर चर्चाकाे विषय बनेकाे छ । 

किन भयो सरकार बन्द? मूल विवाद के हो?

यो सटडाउनको केन्द्रमा अफोर्डेवल केयर एक्ट (एसिए), जसलाई ओबामाकेयर पनि भनिन्छ, अन्तर्गतका स्वास्थ्य बीमा अनुदानहरू रहेका छन्। डेमोक्र्याटिक पार्टीले लाखौं अमेरिकीहरूको स्वास्थ्य बीमा प्रिमियम बढ्नबाट रोक्न यी अनुदानहरूको म्याद थप गर्नुपर्ने अडान राखेको थियो। तर राष्ट्रपति ट्रम्प र रिपब्लिकनहरूले ती अनुदानहरू निरन्तरता दिन अस्वीकार गरे र त्यसलाई सरकारी खर्च कटौतीको हिस्सा बनाए।

डेमोक्र्याटहरूले स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयलाई सम्बोधन नगरी खर्च विधेयक पारित गर्न नसकिने बताए भने रिपब्लिकनहरूले डेमोक्र्याटहरूले “सरकारलाई बन्धक बनाएर” आफ्नो राजनीतिक एजेन्डा पूरा गर्न खोजेको आरोप लगाए। कुनै पनि पक्ष पछि नहट्दा मध्यरातको समयसीमा पार भयो र सरकारका लागि रकम प्रवाह रोकियो।

विश्लेषकहरूका अनुसार, यो सटडाउन राष्ट्रपति ट्रम्पका लागि संघीय सरकारको आकार घटाउने र आफूलाई मन नपरेका कार्यक्रमहरू कटौती गर्ने रणनीतिक अवसर पनि हो। उनले सटडाउनलाई “अनावश्यक कर्मचारीहरू” लाई स्थायी रूपमा हटाउने र डेमोक्र्याटहरूले रुचाएका कार्यक्रमहरूमा “अपरिवर्तनीय” क्षति पुर्‍याउने माध्यम बनाउन सक्ने संकेत दिएका छन्, जसले यस सटडाउनलाई विगतका भन्दा बढी गम्भीर बनाएको छ।

विगतमा के भएथ्यो? असर कति गहिराे हाे?

अमेरिकामा सरकार बन्द तब हुन्छ जब कांग्रेसले संघीय बजेट पारित गर्न असफल हुन्छ। यस्तो अवस्थामा गैर-आवश्यक संघीय सेवाहरू बन्द हुन्छन् र कर्मचारीहरूलाई बेतलबी बिदा (फर्लो) मा पठाइन्छ।

यसको इतिहास लामो छ। १९८० को दशकमा रोनाल्ड रीगनको कार्यकालमा कांग्रेस र राष्ट्रपति बीच खर्च र कर कटौतीको असहमति हुँदा केही दिनसम्मका साना बन्द हुनु सामान्य थियो। बिल क्लिन्टनको कार्यकालमा १९९५–१९९६ मा सबैभन्दा लामो दुई चरणमा सरकार बन्द भयो, कुल २१ दिन। यसको मुख्य कारण रिपब्लिकनहरूले बजेट कटौती र सामाजिक कार्यक्रम घटाउने प्रस्ताव राख्नु र डेमोक्र्याटहरूले विरोध गर्नु थियो।

२०१३ मा बाराक ओबामाको कार्यकालमा स्वास्थ्य सेवा सम्बन्धी विवाद (अफोर्डेवल केयर एक्ट) का कारण १६ दिन सरकार बन्द रह्यो। डोनाल्ड ट्रम्पको कार्यकालमा २०१८–२०१९ मा सिमाना सुरक्षाका लागि “बॉर्डर वाल” को बजेट असहमति हुँदा ३५ दिनसम्म सरकार बन्द रह्यो, जुन अमेरिकी इतिहासमा सबैभन्दा लामो थियो।

सरकार बन्द समाप्त गर्न अमेरिकी प्रणालीमा मुख्यतः कांग्रेस र राष्ट्रपति बीच सहमति आवश्यक पर्छ। सबैभन्दा सामान्य उपाय अस्थायी खर्च स्वीकृति (कन्टिन्यूइङ रेजोल्युसन) हो, जसले संघीय निकायलाई अस्थायी रूपमा खर्च जारी राख्न अनुमति दिन्छ र केही हप्ता वा महिना समय प्रदान गर्दछ।

पूर्ण समाधानको लागि कांग्रेसको दुवै सदनले बजेट विधेयक पारित गर्नुपर्छ र राष्ट्रपति हस्ताक्षर गर्नुपर्छ। कहिले काँही बन्दको समयमा राजनीतिक दबाब कम गर्न दुवै दलबीच समझदारी पनि आवश्यक पर्छ। उदाहरणका लागि २०१३ मा अफोर्डेवल केयर एक्टको कार्यान्वयन ढिला नगर्न डेमोक्र्याट र रिपब्लिकनबीच समझदारी गरिएको थियो।

सरकार बन्द पार लगाउँदा बेतलबी बिदामा रहेका कर्मचारीलाई तलब पछि दिइन्छ र बन्द भएका सार्वजनिक सेवा फेरि सञ्चालनमा आउँछन्। आर्थिक असर अस्थायी हुन्छ, तर हरेक हप्ताको बन्दले अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ०.१–०.२ प्रतिशत गिरावट ल्याउन सक्छ। राजनीतिक दबाब घट्छ भने पनि भविष्यमा दलगत असहमतिको कारण नयाँ सरकार बन्द हुने सम्भावना कायम रहन्छ। यसैले अमेरिका सरकार बन्द हुनु केवल बजेट विवाद होइन, यो संघीय बजेट प्रक्रिया र राजनीतिक असहमतिको स्पष्ट संकेत पनि हो।

अमेरिकामा यसको असर के छ?

सरकारी कामकाज ठप्प हुँदाको असर तत्काल देखिन थालेको छ।

कर्मचारीहरूमा प्रत्यक्ष मार: करिब ७ लाख ५० हजार संघीय कर्मचारीलाई बेतलबी बिदा (फर्लो) मा पठाइएको छ। उनीहरूले कहिले काममा फर्कने र कहिले तलब पाउने भन्ने निश्चित छैन। कानुनअनुसार सटडाउन खुलेपछि तलब पाउने भए पनि तत्काल घरभाडा, ऋणको किस्ता र दैनिक खर्च चलाउन समस्या उत्पन्न भएको छ।

अत्यावश्यक सेवामा असर: सुरक्षा, हवाई ट्राफिक नियन्त्रण, र कानून कार्यान्वयन जस्ता सेवाहरू जारी भए पनि कर्मचारीहरूले तलब बिना काम गरिरहेका छन्। यसले उनीहरूको मनोबलमा असर पर्न सक्छ र लामो समयसम्म सटडाउन चलेमा सेवाको गुणस्तर घट्न सक्छ।

बन्द भएका सेवाहरू: राष्ट्रिय निकुञ्ज, संग्रहालय र अन्य पर्यटकीय स्थलहरू बन्द छन्। साना व्यवसायलाई दिइने ऋण, वातावरणीय निरीक्षण, र धेरै वैज्ञानिक अनुसन्धानहरू रोकिएका छन्।

अर्थतन्त्रमा नोक्सानी: कंग्रेसनल बजेट अफिस (सीबीओ) का अनुसार, सटडाउनले प्रत्येक दिन करिब ४०० मिलियन डलर बराबरको कर्मचारी क्षतिपूर्ति रोकेको छ। अर्थशास्त्रीहरूले हरेक हप्ताको सटडाउनले अमेरिकी जीडीपी मा ०.१–०.२ प्रतिशत गिरावट ल्याउने अनुमान गरेका छन्।

विश्वव्यापी प्रभाव र नेपालमा यसको असर

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा आएको यो संकटले विश्व बजारमा अस्थिरताको डर पैदा गरेको छ। नेपाल जस्ता देशहरूमा यसको असर प्रत्यक्ष र व्यावहारिक हुन सक्छ।

नेपालका लागि भिसा र कन्सुलर सेवामा असर
अध्ययन, भ्रमण वा अन्य उद्देश्यले अमेरिका जाने नेपालीहरूका लागि सबैभन्दा ठूलो चासो यही हो। अमेरिकी विदेश मन्त्रालयका अनुसार, भिसा र राहदानी सेवाहरू शुल्कबाट सञ्चालन हुने भएकाले तत्काल सटडाउनको असर सामान्यतया पर्दैन। काठमाडौंस्थित अमेरिकी दूतावासले पनि आफ्नो वेबसाइटमा सटडाउनका कारण अपडेट सीमित हुने जानकारी दिएको छ।

तर विज्ञहरूले चेतावनी दिएका छन् कि सटडाउन लामो भएमा शुल्कबाट उठेको रकम सकिन सक्छ र आपतकालीन बाहेकका नियमित भिसा अन्तर्वार्ता र अन्य सेवाहरू स्थगित हुन सक्छ।

अन्य अमेरिकी सहयोग र सम्बन्ध
विगतमा विघटन भइसकेको यूएसएआईडी बाहेक, अमेरिकी विदेश मन्त्रालयमार्फत सञ्चालित अन्य सांस्कृतिक, शैक्षिक र सुरक्षासम्बन्धी कार्यक्रमहरूको बजेट पनि यही सटडाउनले रोकेको छ। यसले नयाँ अनुदान स्वीकृति र चलिरहेका साना कार्यक्रमको भुक्तानी प्रक्रियामा ढिलाइ ल्याउन सक्छ। यसले नेपाल र अमेरिकाबीचको कूटनीतिक र जनस्तरको सम्बन्धमा अल्पकालीन असर पार्न सक्छ।

आर्थिक अनिश्चितता
अमेरिकी अर्थतन्त्रमा आउने नकारात्मक असरले विश्वव्यापी प्रभाव पार्छ। डलरको मूल्यमा उतारचढाव र अमेरिकी बजारमा अस्थिरताले नेपालको आयात-निर्यात र रेमिट्यान्समा अप्रत्यक्ष असर पार्न सक्छ।

अमेरिकामा बस्ने नेपालीले के गर्ने?

सरकारी सटडाउन सामान्य बजेट अभाव मात्र होइन, अमेरिकी राजनीतिक प्रणालीमा देखिएको गहिरो विभाजन र वैचारिक संघर्षको प्रतीक हो। राष्ट्रपति ट्रम्पको आक्रामक शैली र डेमोक्र्याटहरूको कडा प्रतिरोधका बीच यो संकट कति लामो समयसम्म रहन्छ भन्ने अनिश्चित छ। 

जति लामो गतिरोध रहन्छ, त्यति नै अमेरिकी नागरिक, त्यहाँको अर्थतन्त्र र नेपाललगायत विश्वभरका देशहरूसँगको सम्बन्धमा नकारात्मक असर थपिनेछ। तत्कालका लागि अमेरिका जाने योजनामा रहेका नेपालीहरूले अमेरिकी दूतावासको आधिकारिक सूचना निरन्तर पछ्याउनु बुद्धिमानी हुनेछ।