अविरल वर्षा–विपद् जोखिमबिच रास्वपाको आह्वान : सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित बनाऔं


काठमाडौँ । अविरल वर्षासँगै उत्पन्न भइरहेका विपद् जोखिमबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

पार्टीले आज जारी गरेको विज्ञप्तिमा जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अझै केही दिन भारी वर्षाको सम्भावना औंल्याएको उल्लेख गर्दै बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम उच्च रहेको जनाएको छ।

यस क्रममा जनधनको क्षति हुन सक्ने भएकाले सरकारी निकायले जारी गरेका सूचनाअनुसार आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

विज्ञप्तिमा विशेषगरी नदी–खोला आसपासका बस्तीमा बस्ने तथा स्थलमार्ग प्रयोग गर्ने सम्पूर्ण नागरिकलाई सचेत रहन अनुरोध गरिएको छ।

साथै, विपद्को बेला मानवीय सेवा तथा सहयोगमा जुट्नु सबैको कर्तव्य रहेको भन्दै पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकलाई सक्रिय भूमिकामा रहन आह्वान गरिएको छ।

रास्वपाले सम्भावित विपद्को न्यूनीकरण, घटनापछिको द्रुत खोज–उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यमा स्थानीय सरकार तथा प्रशासनसँग समन्वय गर्दै पार्टीका द्रुत कार्य समूह सक्रिय हुने पनि स्पष्ट पारेको छ।

पार्टीले सबै नागरिकलाई आफू सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित राख्न सहयोग गर्न अनुरोध गरेका छ।