रास्वपाको बाढी राहत समन्वयका लागि आज साँझ भर्चुअल बैठक, सबै सदस्यलाई सहभागी हुन आह्वान


काठमाडौँ । देशका विभिन्न भागहरूमा लगातार भइरहेको अत्यधिक वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधले जनजीवन प्रभावित बनेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चासो व्यक्त गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार राज्य संयन्त्रसँगको समन्वयमा पार्टीका सबै संरचना उद्धार तथा राहत कार्यमा सिप, स्रोत र जनशक्ति सहित सक्रिय रूपमा संलग्न रहेका छन्।

प्रभावित क्षेत्रहरूमा RSP Rapid Action Team समेत निरन्तर रूपमा परिचालित रहेको र उद्धार तथा राहत कार्यमा जुटिरहेको उनले जानकारी दिए।

यसै सन्दर्भमा, थप राहत समन्वय र प्रभावकारी सक्रियता सुनिश्चित गर्नका लागि रास्वपाले आज साँझ ७ बजेका लागि बृहत् भर्चुअल बैठक आह्वान गरेको छ। बैठकमा नेपालभित्रका साथै विदेशमा रहेका सबै सदस्यहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

बैठकमा सहभागी सदस्यहरूले आफ्नो तर्फबाट गर्न सकिने जिन्सी तथा आर्थिक सहयोगको विवरणसहित उपस्थित हुन अनुरोध गरिएको छ।

जिन्सी सामग्री जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरीका युनिटहरूमा बुझाउन सकिने र आर्थिक सहयोग नेपाल सरकारले तोकेको खातामा जम्मा गर्न सकिने बताइएको छ।

रास्वपाले जोखिमको सूचीमा रहेका जिल्लाहरूमा सहयोगका प्राथमिकता पहिचान गर्ने विषयमा पनि छलफल हुने जनाएको छ।

बैठक जुम प्लेटफर्ममार्फत सञ्चालन गरिने र आवश्यक लिङ्क पार्टीका आधिकारिक समूहहरूमा आज साँझ ६ बजेसम्म उपलब्ध गराइने प्रवक्ता झाले जानकारी दिएका छन् ।