काठमाडाैँ । अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक जनधनको क्षति भएको छ। सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन अस्तव्यस्त भएको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले सरकारसँग तत्काल कदम चाल्न माग गरेका छन्।
नेम्वाङका अनुसार पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको छ। उनले जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र सिफारिसको आधारमा इलामलाई तत्काल “संकटग्रस्त क्षेत्र” घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्।
साथै, नेम्वाङले जिल्लाको भौगोलिक कठिनाइ र सडक अवरुद्धताका कारण आवश्यक राहत सामग्री, औषधि र जनसञ्चारमा अवरोध भइरहेकाले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग पनि गरेका छन्।
इलामका बासिन्दा हाल दैनिक जीवनमा ठूलो कठिनाइ भोगिरहेका छन्। स्थानीय प्रशासन र राहत निकायहरूले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन प्रयास गरिरहे पनि अविरल वर्षा र पहिरोका कारण चुनौती थपिएको छ।



प्रतिक्रिया दिनुहोस्