स्थानीय क्लबलाई व्यापारिक मेला गर्न अनुमति दिएको विरोधमा भीरकोट उद्योग वाणिज्य संघले नगरपालिकालाई कर नतिर्ने घोषणा


काठमाडाैँ । स्याङ्जाकाे भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकासँग असन्तुष्टि जनाउँदै नगरपालिकालाई कुनै पनि प्रकारका स्थानीय कर नतिर्ने घोषणा गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबलाई व्यापारिक मेला आयोजना गर्न अनुमति दिएको निर्णयप्रति विरोध जनाएको हो।

संघका अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीबारदेखि भीरकोट नगरपालिका–१ वयरघारीमा एक स्थानीय क्लबले ‘रमाइलो मेला’को नाममा व्यापारिक स्टल राखेर मेला आयोजना गर्न लागेको छ। संघले यस कदमलाई स्थानीय व्यापारीहरूको हकहितमाथि आघात र व्यापारिक वातावरणमा नकारात्मक असर पार्ने कार्यका रूपमा लिएको छ।

अर्यालका अनुसार संघले नगरपालिकालाई बारम्बार मौखिक र लिखित रूपमा यस्तो मेला रोक्न आग्रह गरे पनि सीमित राजनीतिक दादागिरीका आडमा अनुमति दिइएकाले संघले असहमति जनाउँदै कर नतिर्ने निर्णय गरेको हो। “संघसँग कुनै सहमति नगरी स्थानीय क्लबलाई व्यापारिक मेला गर्न अनुमति दिइएकोले हामी बाध्य भएर यस्तो निर्णय गर्नुपरेको हो,” अध्यक्ष अर्यालले भने।

संघले विज्ञप्तिमार्फत भीरकोट उद्योग वाणिज्य संघ राज्य पुनर्संरचना पछि स्थानीय व्यापारीहरूको हकहितका लागि स्थापना भएको संस्था रहेकाे बताउँदै विगतमा नगरपालिकासँग सहकार्य गर्दै भीरकोटका विभिन्न विकासात्मक र प्रचारात्मक गतिविधिमा योगदान दिएको उल्लेख गर्दै दुई वटा भीरकोट महोत्सव सफलतापूर्वक सम्पन्न गरी नगर, जिल्ला र गण्डकी प्रदेशको कृषि–पर्यटन प्रवर्द्धनमा योगदान दिएको तथ्य उजागर गरेको छ।

तर, संघका अनुसार देशको विषम आर्थिक परिस्थितिमा स्थानीय व्यापारीहरू जीविका जोगाउन संघर्षरत रहँदा मेला जस्ता गतिविधिले उनीहरूलाई थप संकटमा धकेल्ने खतरा देखिएको छ। संघले स्थानीय सरकारप्रति असन्तोष प्रकट गर्दै आगामी दिनमा नगरपालिकालाई कुनै पनि प्रकारका कर नतिर्ने निर्णय सार्वजनिक गरेको हो।

संघले स्थानीय व्यापारीहरूलाई समेत नगरपालिकालाई कुनै पनि स्थानीय कर नतिर्न आग्रह गर्दै उक्त निर्णयको जानकारी नेपाल सरकारको अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला समन्वय समिति स्याङ्जा लगायत सम्बन्धित निकायहरूलाई वोधार्थ पठाएको छ।