ओली र लेखकविरूद्धको जाहेरी कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रहरीमै फिर्ता पठायो 


काठमाडाैँ । भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न भागमा प्रदर्शनका क्रममा भएको घटनाको छानबिनका लागि गठन गरिएको ‘भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२’ ले मृतक रसिक खतिवडाका पिता पुरुषोत्तम खतिवडालगायत चार जनाद्वारा दिएको जाहेरी फौजदारी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई फिर्ता पठाउने निर्णय गरेको छ।

आयोगको असोज २३ गते बसेको बैठकले जिल्ला प्रहरी परिसर, काठमाडौँबाट पत्रसाथ आएको जाहेरी र निवेदनमाथि विस्तृत छलफल गरी सो निर्णय गरेको हो। जाहेरीमा प्रदर्शनका क्रममा भएको घटनालाई मानवता तथा राज्यविरुद्धको कसूरका रूपमा उजुरी गरिएको थियो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माका अनुसार सरकारले आयोगलाई प्रदर्शनका क्रममा भएको भौतिक र मानवीय क्षतिको यथार्थ छानबिन गर्न, घटना घट्नुका कारणको विश्लेषण गरी प्रतिवेदनसहित राय र सुझाव पेस गर्ने जिम्मेवारी दिएको भए पनि फौजदारी अपराधको विस्तृत अनुसन्धान र अभियोजन गर्ने कार्य आयोगको अधिकारक्षेत्रमा पर्दैन।

उनका अनुसार फौजदारी कसूरमा संलग्न जो कोहीमाथि अनुसन्धान र कारबाही गर्ने अख्तियारी नेपाल सरकारले आफ्ना संयन्त्रमार्फत प्रयोग गर्न सक्ने प्रावधान विद्यमान छ। त्यसैले आयोगको मिति २०८२ असोज २१ को प्रेस विज्ञप्तीमा पनि उल्लेख गरिएझैं, फौजदारी अनुसन्धानका लागि आयोगको प्रतिवेदन पर्खिनुपर्ने आवश्यक छैन।

त्यसअनुसार आयोगले प्राप्त जाहेरी, निवेदन र सम्बन्धित कागजातहरू जिल्ला प्रहरी परिसर काठमाडौंलाई फिर्ता पठाउने निर्णय गरेको हो।

आयोगका प्रवक्ता शर्माले सरकारबाट तोकिएअनुसार आयोगले प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष र यथार्थ छानबिन निरन्तर रूपमा गरिरहेको जानकारी दिएका छन्।