मन्त्री घिसिङद्वारा टियु क्रिकेट मैदान निरीक्षण, एनपिएलअघि काम सक्न निर्देशन


काठमाडौँ । भौतिक पूर्वाधार, यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

बिहीबार अपराह्न मन्त्री घिसिङ कीर्तिपुर पुगेर निर्माणको प्रगतिबारे जानकारी लिएका हुन्। निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री घिसिङले मैदानको पहिलो चरणको काम लगभग सम्पन्न भएको जानकारी दिए। उनले फ्लड लाइट जडानको काम एक महिनाभित्र सकिने प्रतिवद्धता प्राप्त भएको उल्लेख गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) सुरू हुनुअघि पहिलो चरणका सबै काम पूरा हुने विश्वास व्यक्त गरे ।

मन्त्री घिसिङका अनुसार हाल निर्माण भइरहेको पारापिटमा करिब १२ हजार दर्शक अट्नसक्ने व्यवस्था गरिएको छ। दोस्रो र तेस्रो चरणको काम पनि सँगसँगै अगाडि बढिरहेको बताउँदै उहाँले सम्पूर्ण निर्माण सम्पन्न भएपछि मैदानमा २५ देखि ३० हजार दर्शकसम्म अट्न सक्ने जानकारी दिए। मैदानलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाइने उल्लेख गर्दै उनले एनपिएल सुरु हुनुअघि सबै तयारी पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन पनि दिए।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि मैदानको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार फ्लड लाइटका सबै उपकरण नेपाल आइपुगेका छन् र अब जडान गर्ने मात्रै बाँकी छ। खेलकुद देशलाई एकतामा बाँध्ने माध्यम भएकाले यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने उनको भनाइ थियो।

खड्काले मैदानको खेल्ने पिच तयारी अवस्थामा रहेको जनाउँदै आगामी दुई हप्ताभित्र मैदानमा उल्लेखनीय परिवर्तन देखिने दाबी गरे । समयमै कामको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै उनले हालको नेपाली क्रिकेट टिम राम्रो लयमा रहेको र क्रिकेटले अब नयाँ यात्राको सुरुवात गर्न लागेको विश्वास व्यक्त गरे।