एक पैसा पनि भ्रष्टाचार गरेको छैन, सम्पादक मण्डलले नै छानविन गरेपनि हुन्छः ओली


काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

आइतबार काठमाडाैँमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उनले भ्रष्टाचार गरेको भन्ने लागेमा छानविन गर्न आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले छानविन गरे हुने उनको भनाइ छ । उनले जलेको घरको खरानी बाहेक केही नभएको बताए । सरकारले बैंक खाता रोक्ने भनेको उल्लेख गर्दै उनले आफू सांसद, प्रधानमन्त्री रहँदाको तलबभत्ताको केही रकम बैक खातामा रहेको उल्लेख गरे । खातामा २०/२५ लाख रुपैयाँ हुनसक्ने उनकाे भनाइ छ ।

उनले भने, “मैले एक पैसा भ्रष्टाचार गरिन । ए बाबा तपाईहरु पनि एउटा टोली बनाएर छानविन गर्नुस् न, हो । अरुको सक्नुहुन्न भने केपी ओली एउटाको छानविन गर्नुस् न । गर्दिनुस् त त्यति ल । गर्नुस्, पत्रकार महासंघले गरेपनि हुन्छ, सम्पादक मण्डलले गरेपनि हुन्छ । एउटा बनाउनुस् न । अनि, तर के भने मेरो घरको, डढेको घरको खरानीको कण कणको तपाईहरुले हिसाव गर्नुपर्नेछ । कति कमाएछ भने, नभए त्यो बाहेक त छैन म संग । त्यही गन्ने होला ? खाता रोक्का गर्ने भनेको पनि सुन्छु ।”

उनले विश्वभरका बैकहरुसँग सोधेर आफ्नो सम्पत्ती छानविन गर्न पनि चुनौती दिए । सबैको सम्पती छानविन गर्न उनले आग्रह गरेका छन्।