काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजार क्षेत्रमा नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसारमा संलग्न चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
प्राप्त विशेष सूचनाको आधारमा विहिबार बिहान करिब १०:३० बजे खटिएको प्रहरी टोलीले आँधिखोला गाउँपालिका र पुतलीबजार नगरपालिका सीमाक्षेत्रमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरी लैजाँदै गरेको अवस्थामा ती ट्याक्टरहरू पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पुतलीबजार नगरपालिका–३ आँधिखोला स्थित दुईघरे–दुलेरह–पुतलीखेत पक्की पुलभन्दा माथिल्लो घाटमा नदिजन्य पदार्थ लोड गरेर लैजाँदै गरेको अवस्थामा ट्याक्टर नं. ग.१ त. ५१७१, ग.१ त. ६४४० (अगाडि इन्जिन भागमा ग.१ त. ६४४० र पछाडिको ढालाको भागमा ग.१ त. ५७३९ लेखिएको), ग.१ त. ५७४० र ग.१ त. ४६३० नम्बरका ट्याक्टरहरू नियन्त्रणमा लिइएका हुन् ।
नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाएको छ ।
प्रहरीले नदिजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी वातावरणीय क्षति र राजस्व चुहावटसँग जोडिएको गम्भीर अपराध भएकाले यस प्रकारका गैरकानुनी क्रियाकलापमा संलग्न जोसुकैलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ ।

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्