काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले दिएको अद्यावधिक प्रक्षेपणअनुसार कार्तिक १३ गते विहीवार बिहानदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हुँदा सुनसरी जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा जारी विज्ञप्तिमा सम्भावित वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने उल्लेख गर्दै सबै क्षेत्रमा पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिएको छ। सूचनामा घरपरिवार, कृषक, यात्रु, स्थानीय निकाय तथा विपद् व्यवस्थापन समितिहरू सबै तयारी अवस्थामा रहन भनिएको छ।
सूचनाअनुसार अत्यावश्यक नभए घरदेखि टाढा र विशेषगरी रातिको समयमा यात्रा नगर्न सुझाव दिइएको छ। साथै, डुबान र पहिरोको जोखिममा रहेका वस्तीका बासिन्दाले सुरक्षित स्थानको पहिचान गर्न, आवश्यक परे उँचो ठाउँमा सर्न र अरुलाई पनि जानकारी दिन भनिएको छ। नदी किनारका बासिन्दालाई बाढीको सम्भावनाबारे सतर्क रहन र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।
त्यस्तै, पहिरोको जोखिम भएका क्षेत्रका कृषकलाई धान तथा अन्य बाली ढिलो नगरी काटी भित्र्याउन र उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ। जोखिमयुक्त राजमार्ग र सडकमा सवारी आवागमन आवश्यकतानुसार जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा निकायको निर्णयअनुसार मात्रै सञ्चालन गर्न भनिएको छ।
तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरू प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। सडक अवरोध वा आकस्मिक अवस्थाका लागि डोजर, एक्साभेटर र लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। साथै, साझेदार संस्थाहरूले जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही सतर्क रहन अनुरोध गरिएको छ।
सुरक्षाका दृष्टिले जोखिमपूर्ण स्थानहरूमा आवागमन नगर्न र आवश्य जानकारीका लागि नजिकका सुरक्षा युनिटहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्