काठमाडाैँ । नेपाल कृषिप्रधान मुलुक भएकाले किसानले खेतमै सिकिरहेका व्यावहारिक ज्ञान र सीपलाई अब औपचारिक शिक्षासँग जोड्नुपर्ने आवाज उठ्न थालेको छ।
कृषिसम्बन्धी विज्ञ र अध्यापकहरूले देशभर सञ्चालन भइरहेका ‘कृषक व्यवसाय पाठशाला’लाई विश्वविद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने सुझाव दिएका छन्।
उनीहरूका अनुसार सबै किसानलाई तालिम वा अभिमुखीकरण कार्यक्रममार्फत पुग्न सम्भव नभएकाले पाठ्यक्रममै समेट्दा यो ज्ञान र सीप सबैसम्म पुग्नेछ।
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र कृषि तथा वन विश्वविद्यालयले केयर नेपालको सहकार्यमा ललितपुरको गोदावरीमा आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशालामा सहभागी विज्ञ, नीति निर्माता, शिक्षक, किसान र दातृ निकायका प्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन्।
‘रूपान्तरणका लागि व्यावहारिक पहल : पाठ्यक्रममा कृषक व्यवसाय पाठशालाको समायोजन, अभ्यास, अवलम्बन र अबको बाटो’ शीर्षकको कार्यशालामा सहभागीहरूले कृषि पेसालाई केवल जीविकोपार्जनको साधन नभई व्यवसायिक पेशाको रूपमा रूपान्तरण गर्न पाठ्यक्रमीय सुधार अपरिहार्य रहेको धारणा राखे।
कृषि तथा वन विश्वविद्यालयको सेन्टर फर बायोटेक्नोलोजीका एसोसिएट प्रोफेसर डा. हिमाल लुइँटेलले नीति र पाठ्यक्रमका कुरा व्यवहारमा कार्यान्वयन गर्न कृषक व्यवसाय पाठशाला आवश्यक रहेको बताए।
उनले यो अभ्यासलाई पाठ्यक्रममा समावेश गर्दा मात्र विद्यार्थी र किसान दुवैले दीर्घकालीन लाभ पाउने उल्लेख गरे।
त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा. हरि पन्तले स्नातकोत्तर सिलेबस संशोधनको क्रममा कृषक पाठशालाको अवधारणा समावेश गर्न आफूले पहल गर्ने बताए।
उनका अनुसार एग्री बिजनेस र इन्टरप्राइज लर्निङ प्रोग्रामजस्ता विषयहरू भए पनि सोझै कृषक व्यवसाय पाठशालासँग जोडिने अभ्यासको अभाव रहेको छ।
मधेस कृषि विश्वविद्यालयका डा. मोहमद एक्रम हुसेनले कृषकसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरू थप्नुपर्ने आवश्यकता औंल्याउँदै अन्तिम सेमेस्टरको थेसिसमा विद्यार्थीलाई यसै विषयमा अनुसन्धान गर्न प्रोत्साहित गर्ने बताए।
काठमाडौँ विश्वविद्यालयका डा. कुमार लामाले पनि विद्यार्थीलाई नेपाल एग्री बिजनेस इनोभेसन सेन्टरमार्फत व्यावहारिक कृषि व्यवसायतर्फ उन्मुख गराइरहेको जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय कृषक समूह महासङ्घका कार्यकारी निर्देशक केदार कोइरालाले कृषक व्यवसाय पाठशालाको आवश्यकता पाठ्यक्रममै छुटेको कारण किसानसँगको कृषि प्रसारको सम्बन्ध कमजोर भएको बताए। उनका अनुसार यो छलफलले उक्त विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता पुष्टि गरेको छ।
सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्ना गाउँपालिकामा सञ्चालित कृषक पाठशालाले भाडाको जमिनमा हुने करार खेतीमार्फत दलित र विपन्न परिवारको आर्थिक सुधारमा ठूलो योगदान पुर्याएको बताए।
सप्तरीकी कृषक सुमित्रा चौधरीले शून्य खनजोत प्रविधि प्रयोग गरेर गरिएको लसुन खेतीबाट उत्पादन र आम्दानी दुबै बढेको अनुभव सुनाइन्।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले कृषक पाठशालाबाट प्राप्त अनुभव अत्यन्त उपयोगी रहेको बताउँदै किसान समूहहरूले भोगिरहेका समूह नवीकरण, प्यान र भ्याट शुल्कजस्ता प्रशासनिक समस्यामा सरकारले ध्यान दिने प्रतिबद्धता जनाए।
उनले स्थानीय तहहरूले कृषिको ससर्त बजेटलाई अधिकतम रूपमा प्रयोग गर्नुपर्नेमा पनि जोड दिए।
राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठले सङ्घीयतापछि गाउँस्तरको कृषि सेवा खुम्चिएको र विशेषज्ञ जनशक्ति प्रशासनिक काममा व्यस्त पारिँदा किसानमाथि प्रत्यक्ष सहयोग पुग्न नसकेको उल्लेख गरे।
उनका अनुसार किसानले खेतबारीमै सिकिरहेको व्यावहारिक सीपलाई औपचारिक शिक्षामा रुपान्तरण नगरेसम्म कृषि क्षेत्रले अपेक्षित रूपमै विकास गर्न सक्दैन।
कार्यशालाको अन्त्यमा समूहगत छलफल र निष्कर्ष प्रस्तुतीकरण गरिएको थियो। यिनै निष्कर्षका आधारमा सम्बन्धित विश्वविद्यालयहरूसँग छलफल गरी कृषक व्यवसाय पाठशालालाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गराउन पहल थालिने जानकारी महासङ्घका कार्यकारी निर्देशक कोइरालाले दिए।



प्रतिक्रिया दिनुहोस्