नेको इन्स्योरेन्सले ‘बोर्डयू’नबुझाउँदा नेपाल पुनर्बिमा कम्पनीबाट पाउने आग्रिम भुक्तानी रोकियो


काठमाडौँ । नेको इन्स्योरेन्सले ‘बोर्डयू’ अर्थात बिमा विवरणपत्र बुझाउन नसक्दा नेपाल पुनर्बिमा कम्पनीबाट पाउने आग्रिम भुक्तानी रोकिएको छ ।

पुनर्बिमा कम्पनीले जेनजी आन्दोलनमा भएको क्षतिको विभिन्न कम्पनीलाई साढे २ अर्ब रुपैयाँ बराबर अग्रिम भुक्तानी दिएको थियो । नेकोले भने रिइन्स्योरेन्स बोर्डयू बुझाउन नसक्दा अग्रिम भुक्तानी नपाएको हो ।

बोर्डयू भन्नाले बिमा कम्पनीले पुनर्बिमा कम्पनीलाई पठाउने बिमित जोखिम, प्रिमियम, वा दाबीहरूको विस्तृत विवरण बुझिन्छ ।

नेकोलाई सम्झौताअनुसार पटकपटक आग्रह गर्दा पनि बिमाको विस्तृत विवरण बुझाउन नसकेपछि पुनर्बिमाको रकम रोकिएको हो । नेकोले अहिले २०८१/८२ को विवरण मात्रै बुझाएको छ । पुनर्बिमा कम्पनीले २०७९/८० र २०८०/८१ को पनि बोर्डयू मागेको थियो ।

जेनजी आन्दोलनका क्रममा नेकोमा झण्डै १ अर्ब १४ कराेड रुपैयाँको बिमा दाबी परेको छ । यसमध्ये नेकोले झण्डै ७० करोड रुपैयाँ पुनर्बिमा कम्पनीबाट पाउनुपर्ने छ ।

नोकोका सिइओ अशोक खड्काले भने आफ्नो मात्रै नभएर अरुको समेत अग्रिम भुक्तानी नपाएको तर्क गरे । हामीले मात्रै होइन अरुले पनि पाएका छैनन् ।

नेपाल रिइन्स्योरेन्सले भने केही कम्पनीले ढिलो र केहीले दाबी नगरेकाले रकम नगएको तर नेकोले भने अझै मागेअनुसार बोर्डयू बुझाउन नसकेको बताएको छ ।

सिइओ खड्काले भने बोर्डयू मागिएकोमा घुमाउरो ढङ्गले असन्तुष्टि जनाए । उनले भने,“विदेशी कम्पनीले माग्दैन । स्वदेशी कम्पनी भनेर हामीले दिएको हो । २०८१/८२ को बुझाएकै छौँ । अग्रिम भुक्तानी त उहाँहरूले क्यास म्यानेज गर्दै गरेकाले नदिइएको होला ।”

नेकोले नेपाल पुनर्बिमा कम्पनीसँग भने बोर्डयू बुझाउने गरी सम्झौता गरेको छ । कम्पनीको सिइओ सुरेन्द्र थापाले नेको इन्स्योरेन्सले ले बोर्डयू नबुझाएको, एक आर्थिक वर्षको प्राप्त भएको र बाँकी मागिएको जानकारी दिए ।

उनले भने,“उहाँहरूले सम्झौता गर्नुभएको छ । हामीले जान्ने विषय त्यै हो । अरु थाहा भएन । मागेअनुसारको बोर्डयू बुझाएपछि भुक्तानी जान्छ ।”