काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनी घटनाको अनुसन्धानका लागि सर्वोच्च अदालत र काठमाडौँ जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन्।
दुवै अदालतले तोडफोड, आगजनी र सरकारी सम्पत्तिमा क्षति पु¥याउने घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाहीको माग गर्दै काठमाडौँ जिल्ला प्रहरी परिसर, भद्रकालीमा औपचारिक जाहेरी दर्ता गराएका हुन्।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले अदालतका तर्फबाट जाहेरी दर्ता भएको पुष्टि गरेका छन्। उनका अनुसार जाहेरीमा आन्दोलनका क्रममा अदालत परिसर र न्यायालयसँग सम्बन्धित संरचनामा भएको क्षतिको विस्तृत विवरण उल्लेख गरिएको छ।
जेन–जी आन्दोलनको क्रममा सिंहदरबार क्षेत्रदेखि सर्वोच्च अदालत परिसरसम्म व्यापक तोडफोड र आगजनी भएका थिए। सो क्रममा सरकारी सवारीसाधन र भवनमा समेत क्षति पुगेको थियो।
प्रहरीले जाहेरी दर्ता भएपछि घटनामा संलग्न समूह र व्यक्तिहरूको पहिचान तथा प्रमाण संकलनको काम अघि बढाएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्