उद्योग तथा लगानी क्षेत्रमा लाइसेन्स प्रणालीका कारण लगानी गर्न कठिनाइ भयोः गभर्नर पौडेल


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्योग तथा लगानी क्षेत्रमा लाइसेन्स प्रणालीका कारण लगानी गर्न कठिनाइ हुने बताएका छन्। शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघको छैठौं वार्षिक साधारण सभामा उनले हाइड्रोपावर लगायतका सबै क्षेत्रका लगानीका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था समस्या सिर्जना गरेको बताएका हुन् ।

उनले भने, “राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई च्यापिएको जस्तो देखिने अवस्था छ यसलाई खुला छोड्ने नीति अपनाउने तयारी छ।” गभर्नर पौडेलका अनुसार अहिले करिब १ लाख ५० हजार उद्योग–व्यवसायी कालो सूचीमा पर्न सक्ने अवस्थामा छन्।

उनी राष्ट्र बैंकले रिटेल काम गरेर मात्र नबस्ने र नियमनको दायराभित्र व्यवसाय गर्न सहज बनाउने पक्षमा रहेको बताएका छन्। “शेयर ट्रान्सफर कम्पनी सचिवमार्फत गरौं भन्ने कुरा हो, यसमा राष्ट्र बैंकको सुपरिवेक्षणले ट्रान्सफर नभएको होइन,” उनले भने।

गभर्नर पौडेलले विगत एक–दुई वर्षदेखि कर्जा वृद्धि नभएको स्मरण गराउँदै, मौद्रिक नीतिले मात्र कर्जा वृद्धि गर्न पर्याप्त नहुने बताए। उनले उद्योगी–व्यवसायीहरूलाई नयाँ अवसर खोजी लगानी गर्न प्रेरित समेत गरे । उनले भने, “देशको विकास नभए तपाईंहरूको विकास पनि सम्भव छैन। नवप्रवर्तन र इनोभेटिभ आइडियामा लगानी गर्नु आवश्यक छ।”