त्रिवी क्रिकेट स्टेडियम उज्यालो हुँदा खुशी छुः मन्त्री घिसिङ


काठमाडाैँ । शहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुशी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा सुरू हुँदैछ । शहरी विकास मन्त्रालयले त्रिवी क्रिकेट स्टेडियमको पहिलो चरणको निर्माणपछि नेपाल क्रिकेट संघ (क्यान) लाई आइतवार हस्तान्तरण गर्‍यो ।

उक्त कार्यक्रममा मन्त्री घिसिङले क्रिकेट रंगशालालाई उज्यालो बनाउन पाउँदा उत्साहित भएको बताए । एनपिएल आयोजना सुरू हुनुअगावै सम्पन्न गर्न दुई महिनाअगाडि नै आफू निरीक्षण गर्न आएको उल्लेख गर्दै उनले यो पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् । मन्त्री घिसिङले निर्माण कम्पनीलाई समयमा सम्पन्न गर्न लगातार आग्रह गरेको र त्यसअनुरूप समयमा सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिए ।

उनले वर्तमान सरकारले दोस्रो चरणमा त्रिवी मैदानको निर्माण गर्न टेन्डर आह्वान भइसकेको बताएका छन् । २/३ वर्षभित्र यो रंगशाला निर्माणले पूर्णता पाउने र क्रिकेट समर्थकले खुसी पाउने उनले आशा गरेका छन् ।

साथै मन्त्री घिसिङले टी ट्वान्टी विश्वकपमा छनोट भएको नेपाली टोलीको तयारीमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले ठूलो अन्तर्राष्ट्रिय क्रिकेट नेपालमा आयोजना गराउने माध्यम सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यहाँबाट आर्थिक श्रोत पनि बनाउने उनले बताएका छन् ।