राजश्व बढाउन करको दर होइन, दायरा विस्तार गर्नुपर्छः अध्यक्ष पाण्डे


काठमाडाैँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजश्व बढाउन करको दर नभइ दायरा विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व निकै आवश्यक हुने बताएका हुन् ।

स्वदेशी लगानीकर्ताले मात्रै नभइ विदेशी लगानीकर्ताले पनि कर सम्बन्धी नीतिका कारण दायित्व हेरेर मात्रै लगानी गर्ने बताए ।मुलुक विषम परिस्थितिमा रहेको बताउँदै केही समयअघिसम्म अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भएपनि अहिले जेनजी आन्दोलनपछि राजनीतिक, सामाजिक क्षेत्रमा समेत चुनौति थपिएको बताए ।

मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक क्षेत्रमा पारदर्शिता, नीतिगत स्पष्टतासँगै स्थिरता आवश्यक रहेको बताए । 

“मुलुकमा विकसित पछिल्लो घटनाक्रम र त्यसबाट सिर्जित अवस्था, अर्थतन्त्र, सामाजिक अवस्था लगायतका विषयमा पूर्ण जानकार हुनुहुन्छ । मुलुक विषम परिस्थितिमा छ । केही समयअघिसम्म अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको थियो भने जेन जी आन्दोलनपछि राजनीतिक, सामाजिक क्षेत्रमा समेत चुनौति थपिएको छ,”उनले भने ।

अध्यक्ष पाण्डेले लगानीकर्ताको लगानीको आधारसमेत करसम्बन्धी नीति हुन्छन् भन्नेकुरा गहन रूपमा ध्यान दिनुपर्ने बताए ।