काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष चार महिनासम्म (साउन-कार्तिक) काे अनुदानित रासायनिक मलको आपूर्ति, मौज्दात, विक्री तथा मार्गस्थ अवस्थासम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि ६ लाख मेट्रिक टन मल आपूर्तिको वार्षिक लक्ष्य राखिएको छ भने यसका लागि कुल बजेट २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
मन्त्रालयका अनुसार हालसम्म ४ लाख ७१ हजार ३०० मेट्रिक टन मल टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ। विभिन्न प्रकारका मलको आपूर्ति अवस्थामध्ये कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत युरिया, डीएपी र पोटास गरी कुल २ लाख ४६ हजार ११९.९५ मेट्रिक टन मल आपूर्ति भएकाे मन्त्रालयले जनाएकाे छ ।
यसमध्ये युरिया ९३ हजार १४५.५५ मेट्रिक टन, डीएपी १ लाख ४५ हजार २४९.३ मेट्रिक टन र पोटास ७७२५.१ मेट्रिक टन रहेको मन्त्रालयले जानकारी गराएको छ।
त्यसैगरी, देशभरिका गोदामहरूमा युरिया २९ हजार ६५.४ मेट्रिक टन, डीएपी ५८ हजार ४८०.०५ मेट्रिक टन र पोटास ८८४८.७५ मेट्रिक टन गरी कुल ९६ हजार ३९४.२ मेट्रिक टन मौज्दात रहेको छ। गत आवमा बाँकी रहेको परिमाण समेत समावेश गर्दा यस अवधिभित्रको मल विक्री १ लाख ९६ हजार ३.९ मेट्रिक टन पुगेको छ।
विक्री वितरणमा युरिया ८९ हजार ८११.७ मेट्रिक टन, डीएपी १ लाख ४९७.६५ मेट्रिक टन र पोटास ५६९४.५५ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, मल मार्गस्थ अवस्थामासमेत उल्लेखनीय मात्रा रहेको छ। आन्तरिक तथा बाह्य आपूर्तिसहित मार्गस्थ अवस्थामा रहेका मलमध्ये युरिया ५२ हजार २१७.५ मेट्रिक टन र डीएपी ५०९१.७ मेट्रिक टन रहेको छ। पोटास हाल मार्गस्थ अवस्थामा नरहेको विवरणमा उल्लेख छ।
मन्त्रालयका अनुसार आगामी माहिनाहरूमा किसानलाई आवश्यक परिमाणमा रासायनिक मल सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आपूर्ति, भण्डारण र वितरण व्यवस्थालाई अझ सुदृढ बनाइनेछ।



प्रतिक्रिया दिनुहोस्