आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि सोलु हाइड्रोपावरको आइपिओ बिक्रि खुला


काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन तथा बिक्रि खुला गरेको छ ।

कम्पनीले आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रूपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि छुट्याएको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं १ को स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयहरूलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता बाँडफाँट गरिने जनाइएको छ।

यस्तै, वैदेशिक रोजगारीमा गएकाहरूका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ। लगानीकर्ताले अंकित मूल्य प्रति कित्ता १०० रूपैयाँमा आइपिओका लागि आवेदन दिन सक्नेछन्।

आइपीओमा अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ गतेसम्म तथा वैदेशिक रोजगारीमा गएकाले मंसिर १० सम्म आवेदन दिन सक्नेछन्।