धितोपत्र बोर्डद्वारा ‘मार्जिन कारोबार सुविधा निर्देशन–२०८२’ मस्यौदा सार्वजनिक, सात दिनभित्र सुझाव माग


काठमाडौंँ । नेपाल धितोपत्र बोर्डले “मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२” को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सात दिनभित्र राय–सुझाव दिन सरोकारवालालाई अनुरोध गरेको छ। बोर्डले तयार पारेको सो मस्यौदामा मार्जिन सुविधा दिन चाहने दलाल व्यवसायीहरूको योग्यता, मार्जिन निर्धारण, जोखिम व्यवस्थापन, र राफसाफ प्रक्रियासम्बन्धी विस्तृत व्यवस्था समेटिएका छन्।

निर्देशनअनुसार मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहने दलाल व्यवसायीले न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी भएको हुनुपर्नेछ। त्यस्तै, संस्थाले राफसाफ सदस्यता तथा निक्षेप सदस्यता प्राप्त गरिसकेको हुनुपर्ने मागसहित मार्जिन सेवा सञ्चालनका लागि धितोपत्र बजारबाट पूर्वसहमति लिनुपर्ने व्यवस्था पनि मस्यौदामा राखिएको छ।

यससँगै, योग्य सेयरको सीमांकन, प्रारम्भिक तथा सम्भार मार्जिन दर, मार्जिन कल प्रक्रिया, धितोपत्रलाई धितो राख्न मिल्ने व्यवस्था, एक ग्राहकले पाउन सक्ने अधिकतम सुविधा सीमा, लेखापरीक्षण एवं विवरण प्रकाशनजस्ता विषयहरू पनि निर्देशनले प्रणालीगत रुपमा स्पष्ट पारेका छन्।

बोर्डले सार्वजनिक रूपमा मस्यौदा प्रस्तुत गर्दै सो दस्तावेजबारे कुनै राय, सुझाव वा सुधार प्रस्ताव भए सात दिनभित्र बोर्डको आधिकारिक इमेलमा पठाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। बोर्डले प्राप्त सुझावको आधारमा अन्तिम निर्देशन कार्यान्वयनमा आउने जनाइएको छ।