व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न सहकारी संस्थाहरूलाई विभागकाे निर्देशन


काठमाडाैँ । सहकारी विभागले व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न र नगराउन सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ।

मंगलबार विभागले सार्वजनिक गरेकाे सूचनामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१’ र ‘आयकर ऐन, २०५८’ का प्रावधानअनुसार सहकारी संस्थाले कानुनी व्यक्तिका कारोबारसँग सम्बन्धित रकम व्यक्तिगत खातामा भुक्तानी वा निकासी गर्न नहुने स्पष्ट निर्देश गरिएको छ।

सूचना अनुसार नियमावली, २०८१ को नियम १० ले कानुनी व्यक्तिको व्यावसायिक कारोबारसम्बन्धी रकम कानुनी व्यक्तिकै खाताबाटै भुक्तानी/प्राप्ति हुनुपर्ने व्यवस्था गरेको छ। व्यावसायिक कारोबार व्यक्तिगत खातामार्फत गरिएको पाइएमा वित्तीय जानकारी इकाइ र आन्तरिक राजस्व विभागमा अनिवार्य रूपमा प्रतिवेदन गर्नुपर्ने सहकारी विभागले जनाएको छ।

त्यसैगरी आयकर ऐन, २०५८ को दफा ८१(क) मा व्यावसायिक कारोबारबाट प्राप्त रकम (नगद, चेक, क्यूआर कोड वा अन्य विद्युतीय माध्यम) व्यक्तिगत खातामा जम्मा गर्न निषेध गरिएको छ।