लामिनार टायल्स ‘१००प्रतिशत भिट्रिफाइड’ को प्रचार गलत भएको पुष्टि, वेबसाइटदेखि होर्डिङ बाेर्डसम्म हटायो


काठमाडौँ । लुम्बिनी सेरामिक्स लिमिटेडले आफ्नो उत्पादन लामिनार टायल्समा ‘१०० प्रतिशत भिट्रिफाइड’ रहेको भनी गरिएको दाबी कानुनविपरीत र भ्रामक भएको पुष्टि भएको छ ।

कम्पनी आफैले विज्ञापन सामग्री परिवर्तन गरेपछि उपभोक्तालाई झुक्याउने गरी यसअघि प्रचार गरेको पुष्टि भएको हो ।

कम्पनीले वेबसाइट, सामाजिक सञ्जालदेखि सडकका होर्डिङ बोर्डसम्म प्रयोग हुँदै आएको ‘१०० प्रतिशत भिट्रिफाइड शब्दावली हटाई अहिले ‘फुल्ली भिट्रिफाइड’ राखिएको हो ।

पहिला
अहिले

टक्सार न्युजमा समाचार प्रकाशित हुनुअघि कम्पनीले डिजिटल तथा भौतिक दुवै माध्यममार्फत लामिनार टायल्स ‘१०० प्रतिशत भिट्रिफाइड’ भन्दै लगातार प्रचार गरिरहेको थियो ।

सरोकारवालाहरू भने यो दाबी प्राविधिक रूपमा पनि असङ्गत र कानुनविपरीत रहेको भन्दै पहिले नै प्रश्न उठाउँदै आएका थिए ।

उपभोक्ता संरक्षण ऐन, २०७५ ले कुनै पनि वस्तुको पूर्ण गुणस्तरका रूपमा ‘१०० प्रतिशत’ दाबी गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।

पहिला
अहिले

समाचार बाहिरिएपछि कम्पनीका अध्यक्ष सुव्रत धितालले सामाजिक सञ्जालमार्फत टक्सार न्युजलाई मेन्सन गर्दै खण्डन समेत गरेका थिए ।

उनले दिल्लीस्थित एनएबिएल मान्यता प्राप्त दिल्ली टेस्ट हाउसले गरेको परीक्षणमा लामिनार टायल्सको पानी सोस्ने औसत दर ०.०४७ प्रतिशत मात्र आएको र यही आधारमा ‘१०० प्रतिशत भिट्रिफाइड’ दाबी गरिएको बताएका थिए ।

उनको दाबीलाई नेपालको कानुनले चिन्दैन । उनले आफैले दिएको तथ्याङ्कले पनि ‘शतप्रतिशत’ भन्द मिल्दैन ।

समाचार प्रकाशनपछि ‘१०० प्रतिशत’ भन्ने दाबी हटाइएको तथ्यले कम्पनीले गल्ती स्वीकार गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका अधिकारीहरूले हालसम्म नेपालमा उत्पादन हुने कुनै पनि टायलले गुणस्तर प्रमाणीकरण नपाएको जानकारी दिएका छन् ।

विभागले टायलका लागि मापदण्ड तयार गर्नुपर्ने प्रक्रिया अघि बढाए पनि प्रमाणिकरण व्यवस्था अझै सुरु गरेका छैन

विभागकी महानिर्देशक कुमारी ज्योति जोशी (भट्ट) ले अहिले विभागबाट कुनै मापदण्ड आधिकारिक रूपमा नबनेको कारण टायल्सको नियमन हुन नसक्ने बताइन् । उनले भनिन्, “मापदण्ड नै छैन, त्यसैले ‘भिट्रिफाइड हो’ वा ‘होइन’ भनेर दाबी गर्ने कानुनी आधार अहिले कुनै पनि कम्पनीसँग छैन ।’’

विभागका अनुसार मापदण्ड लागू भएपछि टायल्सलाई निश्चित तापक्रममा पानीमा उमालेर तौल मापन गरी वर्गीकरण गरिनेछ।

१०० ग्रामको टायल उमालेर १००.८ ग्राम वा कम तौल आउँदा मात्र भिट्रिफाइड मान्यता दिइनेछ। अन्य वर्गीकरण अनुसार सेरामिक प्रोफिलिन, सेरामिक फ्लोर टायल, सेरामिक वाल टायल र परीक्षण नगरिएका टायलहरूको छुट्टाछुट्टै ग्रुप तोकिएका छन्।

हाल मापदण्ड नलागु भएकाले उद्योगहरूले आफ्नै परिभाषा र बजारगत भाषामा प्रचार–प्रसार गरिरहेको र यसले उपभोक्ता प्रष्ट जानकारीविहीन बन्ने अवस्था बढाएको विभागको टिप्पणी छ ।

सम्बन्धित समाचारः