काठमाडाैँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिको तीन महिनाको अवधिमा सरकार पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगाउन सफल भएको दाबी गरेका छन् ।
बिहीवार काठमाडौँमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘दि राइजिङ नेपाल’को ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले भदौ २३ र २४ को घटनापछि देश गहिरो अनिश्चयको अवस्थामा पुगेको भए पनि सरकारले ९० दिनभित्रै ती आशंकालाई चिर्दै अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सफल भएको बताएका हुन् ।
उनले उक्त घटनापछि नेपाल अर्थतन्त्र ध्वस्त हुने, नागरिकहरू बिचल्लीमा पर्ने अनुमान गरिएको स्मरण गर्दै त्यसको विपरीत सरकारले छोटो समयमै पुनरुत्थानको दिशामा तीव्र प्रगति गरेको उल्लेख गरे । तथ्याङ्कहरूले समेत आर्थिक गतिविधि चलायमान भएको स्पष्ट सङ्केत गरेको उनको भनाइ थियो।
मन्त्री खनालका अनुसार कच्चा पदार्थको आयातमा वृद्धि भएपछि उत्पादनसम्बन्धी गतिविधिहरूमा गति आएको छ। साथै उपभोग्य वस्तु तथा अन्तरवर्ती वस्तुको आयात बढ्दा समग्र उपभोग र उत्पादन दुवैमा सकारात्मक प्रभाव परेको देखिएको उनले बताए ।
राजस्व सङ्कलनतर्फ पनि सुधार देखिएको उल्लेख गर्दै उनले गत तीन महिनाको अवधिमा भदौ महिनामा केही ह्रास देखिए पनि त्यसपछि असोज, कार्तिक, मंसिर र पुस महिनाको हालसम्म मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार महसुलबाट करिब १० प्रतिशतको हाराहारीमा कर राजस्व वृद्धि भएको जानकारी दिए। यस्ता सूचकहरूले अर्थतन्त्रको स्वास्थ्य अवस्था मापन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ थियो।
मन्त्री खनालले पर्यटन क्षेत्रमा समेत उल्लेख्य प्रगति भएको दाबी गरे । नेपालको इतिहासमै सन् २०२५ को अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक नेपाल आएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायले पनि नेपाललाई जुनसुकै सङ्कटबाट छिटो पुनरुत्थान गर्न सक्ने मुलुकका रूपमा हेर्न थालेको बताए ।



प्रतिक्रिया दिनुहोस्