सर्लाहीमा उखुबारीमा आगलागी हुँदा तीन करोडको क्षति, पीडित किसानहरूलाई तत्काल राहत दिन महासंघकाे माग


काठमाडाैँ । सर्लाही जिल्लाको गोडैता नगरपालिका–४ रोहुवामा गत सोमबार दिउँसो उखुबारीमा भएको भीषण आगलागीबाट ठूलो मात्रामा उखु बाली नष्ट भएको छ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अनुसार आगलागीमा करिब ५० देखि ६० बिघासम्मको उखु बाली जलेर नष्ट हुँदा करिब १५० जना किसान प्रभावित भएका छन्। घटनाबाट करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको महासंघले जनाएको छ।

महासंघले जारी गरेकाे विज्ञप्तिमा काटेर चिनी मिलमा बिक्री गर्ने तयारी अवस्थामा रहेको उखु जलेपछि किसानहरू गम्भीर समस्यामा परेको उल्लेख छ। प्रारम्भिक अनुमान अनुसार हाई भोल्टेज विद्युत् तारका कारण आगलागी भएको हुनसक्ने बताइएको छ।

आगलागीले किसानहरूको जीविकोपार्जनमा गम्भीर असर परेको भन्दै महासंघले पीडित किसानहरूलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ।

साथै आगामी खेती प्रणालीलाई निरन्तरता दिन बीउ, मल तथा कृषि उपकरणसहित आपतकालीन कृषि प्याकेज उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइएको छ।

महासंघले प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाई आगलागी जोखिम न्यूनीकरण, सुरक्षित कृषि अभ्यास र पुनरुत्थानसम्बन्धी प्राविधिक सहयोग प्रदान गर्नुपर्नेमा पनि जोड दिएको छ।

कृषि जोखिम हस्तान्तरणसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा किसानहरू यस्ता अप्रत्यासित विपत्तिबाट बारम्बार प्रताडित हुनुपरेको महासंघको भनाइ छ।

संघ, प्रदेश तथा स्थानीय सरकारलाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन रोकथामका उपाय अवलम्बन गर्न महासंघले आग्रह गरेको छ।