काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि सार्वजनिक निर्वाचन परिणामलाई लिएर पार्टीभित्र बहस सुरू भएको छ।
संस्थापन पक्षले अपेक्षित रूपमा वर्चस्व कायम गरे पनि अध्यक्ष केपी शर्मा ओलीका नजिकका र विश्वासिला नेता विष्णु रिमालको पराजयले भने राजनीतिक वृत्तमा चर्चा पैदा गरेको छ।
यही विषयलाई लिएर एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले विष्णु रिमालको पराजयलाई चुनावी अंकगणितको परिणाम मात्र भएको उल्लेख गर्दै त्यसलाई आधार बनाएर सुरू गरिएका व्यक्तिगत टिप्पणी र बदनाम अभियानप्रति असन्तुष्टि जनाएका छन्।
थापाले चुनावमा जित र हार स्वाभाविक प्रक्रिया भएको स्मरण गराउँदै रिमालले कहिल्यै पनि सहयोद्धामाथि लाञ्छना लगाएर वा आफूलाई ठूलो देखाउने प्रयत्न नगरेको बताएका छन्।
पार्टीभित्र र बाहिरका आलोचना, घेराबन्दी र दुष्प्रचारलाई बेवास्ता गर्दै जिम्मेवारीमा केन्द्रित रहने नेता भएको उनको टिप्पणी छ। प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकारका रूपमा रिमालले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै थापाले २० महिना सँगै काम गर्दा उनको कार्यक्षमता, निष्ठा र व्यवस्थापन क्षमतामा कुनै प्रश्न नउठ्ने बताए ।
प्रधानमन्त्रीलाई भेट्न नदिएकोजस्ता आरोप लगाएर केही समूहले योजनाबद्ध रूपमा रिमालविरुद्ध अभियान चलाएको दाबी पनि उनले गरेका छन्। थापाका अनुसार रिमाल पदमा हुँदा वा नहुँदा समान रूपमा जिम्मेवारी बहन गर्ने स्वभावका नेता हुन्।
पार्टीलाई अप्ठ्यारो अवस्थामा आवश्यक पर्ने सक्षम र अनुभवी नेताको रूपमा रिमालको आवश्यकता सधैँ रहने उल्लेख गर्दै उनले व्यक्तिगत स्वार्थका लागि बनावटी नजिकिँदो सम्बन्ध बनाउने प्रवृत्ति रिमालमा नरहेको स्पष्ट पारेका छन्।
रिमालको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाउने प्रयासका रूपमा प्रस्तुत गर्नु भ्रमपूर्ण हुने चेतावनी दिँदै थापाले महाधिवेशनको निर्णय अन्तिम भए पनि यसको राजनीतिक प्रभाव र मूल्याङ्कन समयसँगै स्पष्ट हुँदै जाने बताए ।


प्रतिक्रिया दिनुहोस्